च्याम्पियन्स लिग अन्तिम १६ : आज युभेन्टस र पोर्टो भिड्दै, युभेन्टसले कमब्याक गर्ला ?

काठमाडौं, फागुन २५

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज रातिबाट अन्तिम १६ अन्तर्गत दोस्रो लेगका निर्णायक खेलहरू सुरु हुँदैछन् । आज पहिलो दिन दुई खेल हुँदैछन् । आज हुनेमध्ये एक खेलमा इटालियन युभेन्टस र पोर्चुगिज क्लब पोर्टो भिड्दैछन् । यो खेल युभेन्टसको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ । आजको खेल अन्तिम आठमा प्रवेश गर्नका लागि निर्णायक हो । यो खेलपछि एक टोली आउट हुनेछ भने एक टोली अर्को चरण जानेछ । यसअघि भएको पहिलो लेगको खेलमा युभेन्टस अवे मैदानमा २–१ ले पराजित भएको थियो । आज आफ्नो मैदानमा उत्रिँदा युभेन्टसमाथि पहिलो लेगको नतिजा उल्टाउनुपर्ने दबाब हुनेछ । तसर्थ आन्ड्रेया पिर्लोको कमान्डमा रहेको युभेन्टस आज आफ्नै मैदानमा खेल्दा दबाबमा हुनेछ ।

आज एलिनाज रंगशालामा खेल्दा पाहुना टोली पोर्टोलाई केही राहत छ । उसँग पहिलो लेगको २–१ को अग्रता छँदैछ । तसर्थ आज पोर्टोलाई सामान्य नतिजा पनि अर्को चरण जान काफी हुनेछ । आज घरेलु टोलीलाई कम्तीमा ०–० मा रोक्ने लक्ष्यमा पोर्टो हुनेछ । साथै, आज पोर्टोले युभेन्टसको घरमा १ गोल गरे युभेन्टस कठिनाइमा पर्नेछ । पोर्टाले मात्रै १ गोल गरे युभेन्टसले खेल जित्न आज ३ गोल गर्नुपर्ने हुन्छ । तसर्थ, युभेन्टस आज पाहुना टोलीलाई गोल गर्न नदिने रणनीतिका साथ खेल्नेछ । युभेन्टसलाई नतिजा उल्ट्याउन धेरै कठिन पनि छैन । पहिलो लेगमा १ अवे गोलको फाइदा ऊसँग छ । तसर्थ, उसले आज आफ्नो घरमा मात्रै १–० को साँघुरो नतिजा निकाले पनि पुग्छ । त्यो बेला दुवैको समान २–२ को बराबरी हुने भए पनि अवे गोलका आधारमा युभेन्टस अर्को चरण प्रवेश गर्नेछ । तर, युभेन्टस आज घरेलु मैदानमा सकेसम्म धेरै गोल गरेर उत्कृष्ट नतिजाका लागि प्रयास गर्नेछ ।

आजको खेलमा युभेन्टसका प्रशिक्षक पिर्लोलाई चोटग्रस्त बाहेक सबै खेलाडी प्रयोग गर्न मिल्ने सुविधा छ । खेलअघि पत्रकार सम्मेलनमा कुरा गर्दै उनले आजको खेलमा क्रिस्टियानो रोनाल्डो ठीकठाक मैदान उत्रिने बताएका छन् । पोर्टोविरुद्ध कमब्याक गर्नका लागि रोनाल्डो उत्साहित रहेको पिर्लोले बताएका छन् । त्यसैगरी, युवा खेलाडीहरू अल्भारो मोराटा, वेस्ट म्याकेनी, फेडरिको किइजा, फेडरिको बर्नान्डेजीसहितका खेलाडी आज उपलब्ध छन् । आजैको खेलबाट कप्तन जर्जिनो किलिनी पनि मैदान फर्किने सम्भावना छ । तर, आज पनि एक प्रमुख खेलाडी पाउलो डिबाला भने टोलीमा हुनेछैनन् । उनी अझै चोटमक्त भइसकेका छैनन् । आज अर्थुर मेलो छैनन् भने युवा डिफेन्डर माथिस डि लिग्ट पनि नहुने सम्भावना छ । यो समाचार बनाउँदासम्म पिर्लोले प्रारम्भिक टोली सार्वजनिक गरेका छैनन् ।

प्रकाशित मिति २५ फाल्गुन २०७७, मंगलवार १०:३७
Loading...