लिभरपुलको ‘हरिबिजोग’ : ६९ वर्षकै खराब स्थितिमा, च्याम्पियन्स लिगमा छनौट नै नहुने खतरा !

काठमाडौं, फागुन २४

इंग्लिस प्रिमियर लिग फुटबलको साबिक च्याम्पियन लिभरपुल यतिबेला ज्यादै खराब स्थितिमा आइपुगेको छ । गत राति प्रिमियर लिगमा २८औं चरणको खेलमा आफ्नै घरेलु मैदानमा रेलिगेसन जोन १८औं स्थानको फुलहामसँग ०–१ ले पराजित भएपछि जोर्गेन क्लोपले कमान्ड गरिरहेको एनफिल्ड टोलीले अर्को अप्रत्यासित चोट पायो । यो हार लिभरपुलका लागि यो सिनजको नवौं हार थियो, जुन अहिले टप–८ मा रहेका टोलीमध्ये सबैभन्दा धेरै हार हो । गत रातिको हारपछि त लिभरपुल टेबलको आठौं स्थानमा पनि चिप्लिएको छ । ताजा अवस्थामा उसको खातामा २८ खेलबाट ४३ अंक छ । र, ऊ मुस्किलले आठौंमा छ । अहिले ऊ लिग लिडर म्यानचेस्टर सिटीभन्दा २२ अंकको फराकिलो अन्तरमा पछि परेको छ ।

यही स्थितिमा लिभरपुलको यो सिजनको लिग उपाधि होड त अघोषित रूपमा समाप्त नै भइसकेको छ । तर, त्योभन्दा ठूलो कुरा त ऊ अहिले अर्को सिजनका लागि च्याम्पियन्स लिगमै छनौट नहुने खतरामाझ उभिएको छ । लिभरपुल अहिले जहाँ छ र उसको यात्रा जसरी खराब स्थितिबाट अघि बढिरहेको छ, यसले लिभरपुलको आगामी यात्रा झनै कहालीलाग्दो र पीडादायी हुने देखाउँछ । यतिसम्म कि, सिजन पूरा हुँदा टप–४ मा रहेर अर्को सिजन च्याम्पियन्स लिगमा छनौट हुन पनि उसका लागि अब ठूलै लडाइँ गर्नुपर्ने देखिन्छ । तत्कालै लिभरपुलले व्यापक सुधार गरेर राम्रा नतिजाहरू प्राप्त गर्न नसक्ने हो भने उसलाई अर्को सिजन च्याम्पियन्स लिगमा देख्न पाइनेछैन नै, युरोपा लिगमा पनि उस स्थान बनाउन सहज हुनेछैन ।

स्मरण रहोस्, क्लोपको कमान्डमा लिभरपुलले गत सिजन प्रिमियर लिग जितेको थियो । उसले ३० वर्षपछि घरेलु लिग जितेर इतिहास रचेको थियो । गत वर्ष निकै शानदार ढंगले लिग च्याम्पियन बनेको लिभरपुल अहिले त्यत्ति नै बेइज्जतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ, यो निकै अप्रत्यासित र पीडादायी देखिएको छ । त्यत्ति मात्रै हैन, लिभरपुल अघिल्लो सिजन २०१८–१९ सिजनको च्याम्पियन्स लिग विजेता टोली पनि हो । तर, त्यसको दुई सिजनपछि त ऊ च्याम्पियनस लिगको समूह चरणका लागि नै छनौट नहुने स्थितिमा आइपुगेको छ । दुई वर्षका बीचमा युरोपको च्याम्पियन, इंग्ल्यान्डको च्याम्पियन र फिफा क्लब विश्वकपको च्याम्पियन बनेको लिभरपुल अहिले यो स्थितिमा आइपुग्ला भनेर न लिभरपुलका खेलाडी र कोचले सोचेका थिए होलान् न त समर्थकले नै ।

अहिले नै लिभरपुल च्याम्पियन्स लिगमा छनौट नहोला भनेर भन्नु अलि हतारो हुन सक्छ । किनभने, लिगमा अझै १० खेल बाँकी नै छन् । यी १० खेलबाट उसले प्रदर्शन र नतिजा सुधारेर टप–४ मा रहँदै सिजन पूरा गर्न सक्छ । र, लिग लिडरसँग अंक दूरी कम गर्न सक्छ । तर, पछिल्ला खेल र ती खेलमा व्यहोरेको नतिजा हेर्ने हो भने चैं लिभरपुलको आगामी बाटो झन् कठिन, चुनौतीपूर्ण र पीडादायी हुने देखिन्छ । गत राति रेलिगेसन टिमसँगको हारले लिभरपुलले यो सिजन कसरी पूरा गर्नेछ भन्ने एउटा संकेत दिएको छ । तर, लिभरपुलले लिगका बाँकी खेलबाट अवस्धा सुधारेर टप–४ मा रहँदै सिजन सिध्याउने लक्ष्यलाई अझै पनि पूरा गर्न सक्ने अंकगणितीय बाटो र सम्भावना भने खुला नै छ । त्यसका लागि टोलीले तत्कालै नतिजाहरूमा सुधार ल्याउन सक्नुपर्छ ।

यता, लिभरपुलले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा जर्मन क्लब आरबी लेइपजिगलाई २–० ले हराएको छ । यदि दोस्रो लेगमा अप्रत्यासित हार नभोगे ऊ अन्तिम आठमा प्रवेश गर्नेछ । प्रिमियर लिगमा यो सिजन खराब भए पनि च्याम्पियन्स लिग जितेर सिजनलाई खराब हुनबाट जोगाउने समय र अवसर लिभरपुलका लागि अझै पनि छँदैछ । सम्भवतः लिभरपुलले अबको ध्यान लिगको टप–४ मा फर्किन र च्याम्पियन्स लिगमा सकेसम्म राम्रो गर्दै उपाधि जित्नका लागि लगाउनेछ । ऊ यसअघि नै म्यानचेस्र युनाइटेडसँग हारेर एफए कपबाट आउट भइसकेको छ । त्यसैगरी, इएफएल कपमा पनि आर्सनलसँग हारेर आउट भइसकेको छ । अब उसका लागि बाँकी प्रतियोगिता भनेको प्रिमियर लिग र च्याम्पियन्स लिग मात्रै हो ।

गत राति फुलहामसँग पराजित भएपछि लिभरपुलका नाममा केही खराब रेकर्ड पनि बनेका छन् । केही खराब तथ्यांक बनेका छन् । पहिलो– लिभरपुलले आफ्नो क्लब इतिहासमै एकै सिजनमा घरेलु लिगमा ८ होम म्याचमध्ये एक पनि नजितेको यो नै पहिलोपटक हो । यो ६९ वर्षकै सबैभन्दा खराब स्थिति हो । उसले घरेलु लिगअन्तर्गत एनफिल्डममा भएका पछिल्ला ८ खेलमध्ये कुनै पनि खेल जित्न सकेको छैन । दोस्रो– लिभरपुलले यही सिजन सुरुआती १४ खेलमधये ९ खेल जितेर ४ खेल बराबरी गर्दा मात्रै १ खेल हारेको थियो । त्यस दौरान उसले १४ खेलबाट ३१ अंक जोडेर ३६ गोल गरेको थियो आफूले १९ गोल खाएको थियो । तर, पछिल्ला १४ खेलमा उसले मात्रै ३ खेल जितेर ३ खेल बराबरी गरेको छ भने ८ खेल हारेको छ । यस दौरान उसले मात्रै १२ अंक जोड्दा आफूले ११ गोल गरेको छ भने खाएको गोल चैं १७ छ । लिभरपुलका पछिल्ला २० खेलको नतिजा यहाँ हेरौं:–

  • लिभरपुल ० – १ फुलहाम (प्रिमियर लिग)
  • लिभरपुल ० – १ चेल्सी (प्रिमियर लिग)
  • सेफिल्ड युनाइटेड ० – २ लिभरपुल (प्रिमियर लिग)
  • लिभरपुल ० – २ एभर्टन (प्रिमियर लिग)
  • आरबी लेइपजिग ० – २ लिभरपुल (च्याम्पियन्स लिग)
  • लेस्टर सिटी ३ – १ लिभरपुल (प्रिमियर लिग)
  • लिभरपुल १ – ४ म्यानचेस्टर सिटी (प्रिमियर लिग)
  • लिभरपुल ० – १ ब्राइटन (प्रिमियर लिग)
  • वेस्ट ह्याम १ – ३ लिभरपुल (प्रिमियर लिग)
  • टोटनह्याम १ – ३ लिभरपुल (प्रिमियर लिग)
  • म्यानचेस्टर युनाइटेड ३ – २ लिभरपुल (एफए कप)
  • लिभरपुल ० – १ बर्नली (प्रिमियर लिग)
  • लिभरपुल ० – ० म्यानचेस्टर युनाइटेड (प्रिमियर लिग)
  • एस्टोन भिल्ला १ – ४ लिभरपुल एफए कप)
  • साउथह्यामपटन १ – ० लिभरपुल (प्रिमियर लिग)
  • न्युक्यासल ० – ० लिभरपुल (प्रिमियर लिग)
  • लिभरपुल १ – १ वेस्ट ब्रुम (प्रिमियर लिग)
  • क्रिस्टल प्यालेस ० – ७ लिभरपुल (प्रिमियर लिग)
  • लिभरपुल २ – १ टोटनह्याम (प्रिमियर लिग)
  • फुलहाम १ – १ लिभरपुल (प्रिमियर लिग)

यी पछिल्ला २० खेलको नतिजा हेर्दा लिभरपुलले यस बीचमा सबैभन्दा ठूलो नतिजा घरेलु लिगमा क्रिस्टल प्यालेसमाथि अवे मैदानमा ०–७ ले जितेको थियो । रेलिगेसनको फुलहामसँग उसले दुवै लेगमा राम्रो गरेन । पहिलो लेग १–१ मा रोकियो भने गत रातिको दोस्रो लेगमा त पराजय नै भोग्यो । त्यसैगरी, लिभरपुलले लिगका पछिल्ला ७ खेलमध्ये मात्रै १ खेल जितेको छ । उसले गत रातिको सहित पछिल्ला २ खेल हार्नुअघि सेफिल्डलाई २–० ले हराएको थियो । त्यसअघि ऊ लगातार चार खेलमा हारेको थियो । यसरी हेर्दा उसले लिगका पछिल्ला ७ खेलमध्ये मात्रै १ खेल जितेर ६ खेलमा पराजय भोगेको छ । जसमा यी नै २० खेल दौरान ऊ एफ कप र इएफएल कपमा समेत पराजित हुँदै आउट भउको छ । यी दुईमा उसलाई आर्सनल र म्यानचेस्टर युनाइटेडले आउट गराए । पछिल्ला २० खेलको नतिजा यस्तो छ–
जित – ७
हार – ९
बराबरी – ४

प्रकाशित मिति २४ फाल्गुन २०७७, सोमबार १२:१७
Loading...