केन र बेल चम्किँदा टोटनह्यामको शानदार जित : लिभरपुल आठौं स्थानमा चिप्लियो

काठमाडौं, फागुन २४

स्टार फरवार्डद्वय ह्यारी केन र ग्यारेथ बेल चम्किँदा इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले शानदार जित निकालेको छ । गत राति भएको लिगको २७औं साताको खेलमा टोटनह्यामले पाहुना टोली क्रिस्टल प्यालेसमाथि आफ्नो घरेलु मैदानमा ४–१ को जित निकाल्यो । अंक तालिकामा सुधार गर्न टोटनह्यामका लागि यो निकै महत्त्वपूर्ण जित हो । टोटनह्यामको जितमा ह्यारी केन र बेलले २–२ गोल गरे भने केनले २ गोलमा असिस्ट समेत गरेर म्यान अफ् द म्याच प्रदर्शन गरे । टोटनह्यामको यो जितसँगै साबिक विजेता लिभरपुल भने सातौं स्थानबाट आठौं स्थानमा चिप्लिएको छ । लिभरपुल अहिले निकै खराब स्थितिमा पुगेको छ । ऊ गत राति १८औं स्थानको फुलहामसँग आफ्नै घरमा ०–१ ले पराजित भएको थियो ।

टोटनह्यामले खेलको २५औं मिनेटमा बेलको गोलबाट अग्रता लिएको थियो । सो गोलमा केनले नै असिस्ट प्रदान गरेका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा प्यालेसका लागि क्रिस्टिएन बेन्टेकेले गोल गरेर खेल १–१ बनाएका थिए । तर, दोस्रो हाफमा टोटनह्याम हाबी भयो । खेलको ४९औं मिनेटमा बेलले व्यक्तिगत दोस्रो गोल गरे । यसपटक पनि उनको गोलमा केनले नै असिस्ट गरेका थिए । त्यसपछि ५२औं मिनेटमा केनले गोल गर्दै खेल ३–१ बनाउँदा ७६औं मिनेटमा केनले हेङ मिन सनको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि खेल टोटनह्यामले ४–१ फराकिलो अन्तरमा जित्यो ।

अब यो जितछि टोटनह्याम लिगको छैटौं स्थानमा पनि चढेको छ । उसले २७ खेल सकिँदा कूल ४५ अंक जोडेको छ । ऊ अब पाँचौं स्थानको एभर्टनभन्दा १ र चौथो स्थानको चेल्सीभन्दा मात्रै २ अंकले पछि छ । यता, टोटनह्यामको जितसँगै लिभरपुल भने आठौं स्थानमा झरेको छ । उसले २८ खेलबाट ४३ अंक मात्रै बनाएको छ । हालको अवस्थामा लिभरपुल लिग लिडर म्यानचेस्टर सिटीभन्दा २२ अंकले पछि परेको छ ।

प्रकाशित मिति २४ फाल्गुन २०७७, सोमबार १०:२०
Loading...