‘मेस्सीका खास प्रशंसक’ लापोर्टा बने बार्सिलोनाको नयाँ अध्यक्ष

एजेन्सी, फागुन २४

स्पेनिस फुटबल क्लब बार्सिलोनाले नयाँ अध्यक्ष पाएको छ । निर्वाचनबाट क्लबको अध्यक्षमा जोन लापोर्टा चयन भएका छन् । शनिबार भएको निर्वाचनमा लापोर्टाले सर्वाधिक ५४ प्रतिशत भोट प्राप्त गर्दै दोस्रोपटक अध्यक्ष पदमा निर्वाचित भएका हुन् । लापोर्टा दोस्रोपटक क्लबको अध्यक्ष बनेका हुन् । उनी सन् २००३ देखि २०१० सम्म पनि बार्सिलोनाको अध्यक्ष भएर काम गरिसकेका व्यक्ति हुन् । उनी दोस्रोपटक निर्वाचनमार्फत् नै क्लबको नेतृत्वमा आएका हुन् । गत अक्टोबर महिनामा अघिल्ला अध्यक्ष जोसेप मारिया बार्टोमेउले पदबाट राजीनामा गरेपछि अध्यक्ष पद खाली भएको थियो । त्यसको चार महिनापछि क्लबले नयाँ अध्यक्ष पाएको हो ।

यसपटक लापोर्टाले अध्यक्ष पदमा निर्वाचित हुँदा अर्का प्रतिस्पर्धी भिक्टोर फन्टलाई पराजित गरे । अध्यक्षका लागि ३ जना प्रतिस्पर्धामा थिए । तेस्रो प्रतिस्पर्धी टोनी फ्रेइक्सा थिए । यसपटक निर्वाचनमा १ लाख ९ हजार ५ सय ३१ सदस्यमध्ये कूल ५५ हजार ६ सय ११ सदस्यले मात्रै भोट गरेका थिए । जसमा अध्यक्ष्मा निर्वाचित लापोर्टाले ५४.२८ प्रतिशत मत पाउँदा दोस्रो भएका फन्टले २९.९९ प्रतिशत मत पाए । तेस्रो भएका टोनीले निकै कम ८.५८ प्रतिशत मात्रै मत पाए । ५८ वर्षीय लापोर्टले फराकिलो अन्तरमा चुनाव जितेर अध्यक्षमा चुनिएपछि क्याटलान क्लबले अब नयाँ नेतृत्वसँगै नयाँ खेलकुद योजना पनि पाउनेछ । निर्वाचनअघि लापोर्टालाई नै नयाँ अध्यक्षका लागि मुख्य दाबेदार मानिएको थियो । र, सोही अनुसार चुनावी नतिजा समेत आयो । हिजो मात्रै चुनाव भएकोमा १२ घन्टाभित्रै निर्वाचनको अन्तिम परिणाम समेत आएको हो ।

यसअघि सन् २००३–२०१० सम्म पहिलोपटक अध्यक्ष बनेका लापोर्टाका पालामा बार्सिलोनामा रोनाल्डिन्हो, सामुएल इटोजस्ता ठूला खेलाडी थिए । लापोर्टाकै पालामा कप्तान लिओनल मेस्सी समेत सिनियर टोलीमा प्रवेश गरेका थिए । लापोर्टाको पहिलो अध्यक्षकालमा बार्सिलोनाले कूल १२ उपाधि जितेको थियो । जसमा ला लिगा ४, कोपा डेल रे १, स्पेनिस सुपर कप ३, च्याम्पियन्स लिग २, युइएफए सुपर कप १ र फिफा विश्वकप १ रहेका थिए । लोपोर्टा हालका कप्तान लिओनल मेस्सीका ठूला प्रशंसक हुन् । चुनावअघि पनि उनले यदि आफू नयाँ अध्यक्षमा निर्वाचित भए नयाँ खेलाडी अनुबन्ध गर्न र कप्तान मेस्सीलाई बार्सिलोनामै राख्नका लागि ठूला निर्णय गर्ने घोषणा नै गरेका थिए । लापोर्टा अध्यक्ष बनेसँगै अब मेस्सीले बार्सिलोना नछाड्ने र सोही क्लबबाट करिअर अन्त्य गर्ने सम्भावना बढेको छ । किनभने, मेस्सी र लापोर्टाबीच निकै राम्रो व्यक्तिगत सम्बन्ध रहेको छ ।

प्रकाशित मिति २४ फाल्गुन २०७७, सोमबार ०९:२६
Loading...