साबिक च्याम्पियन लिभरपुलको ‘कन्तबिजोग’ : रेलिगेसनको फुलहामले पनि छाडेन

काठमाडौं, फागुन २३

गत सिजन ३० वर्षपछि इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनेर इतिहास रचेको लिभरपुल यो सिजन यतिबेला क्लब इतिहासकै खराब अवस्थामा आइपुगेको छ । उसको यतिसम्म कन्तबिजोग भएको छ कि, लिभरपुलले क्लब इतिहासमै पहिलोपटक एकै सिजनमा ६ होम म्याचमा पराजित हुन पुगेको छ । आज आइतबार राति लिगको २८औं साताको खेलमा रेलिगेसन जोनको फुलहामसँग आफ्नै घरेलु मैदानमा ०–१ ले हारेपछि लिभरपुलको कन्तबिजोग भएको हो । आजको हार गत सिजनको च्याम्पियनका लागि यो सिजनको नवौं हार हो । लिभरपुलले लिगका पछिल्ला ७ खेलमा मात्रै १ खेल जित्दा ६ खेल हारेको छ । यो उसका लागि निकै खराब स्थिति हो ।

केही समयअघि लगातार चार खेल हारेर एक खेल जितेर जितको बाटोमा फर्किएको लिभरपुलले त्यसपछि फेरि लगातार दुई खेल हारेको छ । आज त झन् उसलाई आफ्नो घरेलु मैदानमा लिगको १८औं स्थानको फुलहामले ०–१ ले स्तब्ध बनायो । पाहुना टोली फुलहामका लागि खेलको ४५औं मिनेटमा मारियो लेमिनाले गरेको १ मात्रै गोल साबिक च्याम्पियनलाई हराउन काफी भयो । गोल खाएपछि घरेलु टोली लिभरपुल खेलमा फर्किन सकेन । र, खेल फुलहामले ०–१ ले जित्यो । रेलिगेसन जोनको टिमविरुद्ध लिभरपुलले कूल १६ पटक आक्रमण गर्दा ३ पटक मात्रै अन टार्गेट हानेको थियो । उसले कूल ६४ प्रतिशत बल आफ्नो पक्षमा राख्दा ७०२ सफल पास खेले पनि १ गोल गर्न नसक्दा खराब नतिजा भोग्न बाध्य भयो ।

अब यो हारपछि लिभरपुलको खातामा २८ खेल सकिँदा मात्रै ४३ अंक छ । ऊ हाल सातौं स्थानमा मात्रै रहेको छ । यदि आज राति नै आठौं स्थानको टोटनह्यामले आफ्नो खेल जिते लिभरपुल आठौं स्थानमा चिप्लिनेछ । लिभरपुलका लागि यो सिजनको उपाधि यात्रा अघोषित रूपमा समाप्त भइसकेको छ । उसलाई त अब टप–४ मा फर्किएर अर्को सिजन च्याम्पियन्स लिगमा छनौट हुन पनि धेरै दुःख गर्नुपर्ने देखिन्छ । यता, आज लिभरपुललाई हराउने फुलहामले २८ खेलबाट २६ अंक बनाएको छ । रेलिगसन जोनबाट माथि उक्लिन उसलाई अझै केही खेल जित्नुपर्ने छ ।

प्रकाशित मिति २३ फाल्गुन २०७७, आईतवार २३:४७
Loading...