रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई रोक्यो : बार्सिलोनालाई पनि फाइदा !

काठमाडौं, फागुन २३

स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा सिजनको दोस्रो मड्रिड डर्बी भिडन्त बराबरीमा सकिएको छ । आज आइतबार राति भएको सिजनको दोस्रो डर्बी भिडन्तमा लिग लिडर एथ्लेटिको मड्रिडलाई पाहुना टोली रियल रियल मड्रिडले उसैको घरेलु मैदानमा १–१ को बराबरीमा रोकिदिएको हो । हार नजिक पुगेको रियलले खेलको अन्तिम समयमा गोल गर्दै हार पन्छायो भने घरेलु टोली एथ्लेटिकोलाई जितको मुखैमा पुगेर पनि जितबाट वञ्चित गरिदियो । रियललाई हारको मुखबाट बराबरीमा फर्किन पनि ठूलै संघर्ष गर्नु परेको थियो । अब उपाधि होडमा रहेको दोस्रो स्थानको बार्सिलोनालाई पनि मड्रिड डर्बीको यो नतिजाको परोक्ष फाइदा पुगेको छ । यदि यो खेल एथ्लेटिकोले जितेको भए रियल र बार्सिलोना दुवैका लागि उपाधि होड संकटमा पर्ने थियो ।

एथ्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानो रंगशालामा घरेलु टोलीका लागि उरुग्वेन फरवार्ड लुइस स्वारेजले गोल गरेर अग्रता दिलाएका थिए । खेल सुरु भएको १५औं मिनेटमै स्वारेजले निकै सुन्दर गोल गरेका थिए । द्रुत आक्रमणको मुभ बनाएको एथ्लेटिकोले पाएको पहिलो अवसरमा कुनै गल्ती गरेन । रियलकै पूर्वखेलाडी समेत रहेका मार्कोस लोरेन्टोको उत्कृष्ट पासमा लुइस स्वारेजले लो प्रहारमा गोल गरेका थिए । स्वारेजले रियलका गोलकिपर थिबाउट कोर्टुवाको अगाडिबाट बललाई जाली चुमाएका थिए ।

सोही गोलको अग्रता लिएर एथ्लेटिको जितको बहुत नजिक पुगेको थियो । तर, खेलको ८८औं मिनेटमा रियलका लागि करिम बेन्जेमाले गोल गरेर टिमलाई खेलमा फर्काए । कासेमिरोको पासमा बक्स भित्र अनमार्क रहेका फ्रेन्च फरवार्ड बेन्जेमाले सहजैै गोल गरेपछि खेल १–१ को बराबरीमा टुंगियो । अन्तिम केही मिनेट सम्हालिन नसक्दा एथ्लेटिकोले निकै महत्त्वपूर्ण २ अंक गुमायो । अब यो बराबरीपछि एथ्लेटिकोको खातामा २५ खेलपछि ५९ अंक भएको छ । रियलको खातमा २६ खेलपछि ५४ अंक छ । मड्रिड डर्बी बराबरी हुँदा दोस्रो स्थानको बार्सिलोनाको एथ्लेटिकोसँग दूरी पनि बढ्न नपाउँदा बार्सिलोनालाई यसको थोरै फाइदा पुगेको छ ।

प्रकाशित मिति २३ फाल्गुन २०७७, आईतवार २३:००
Loading...