मड्रिड डर्बी भिडन्त : पहिलो हाफमा रियलविरुद्ध एथ्लेटिकोलाई अग्रता

काठमाडौं, फागुन २३

स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा अहिले सिजनको दोस्रो मड्रिड डर्बी भिडन्तमा लिग लिडर एथ्लेटिको मड्रिड र तेस्रो स्थानको रियल मड्रिडको खेल जारी छ । एथ्लेटिकोको घरेलु मैदानमा जारी खेलको पहिलो हाफमा घरेलु टोलीले १–० को अग्रता लिएको छ । एथ्लेटिकोका लागि खेल सुरु भएको १५औं मिनेटमै लुइस स्वारेजले गोल निकै सुन्दर गोल गरेका थिए । द्रुत आक्रमणको मुभ बनाएको एथ्लेटिकोले पाएको पहिलो अवसरमा कुनै गल्ती गरेन । रियलकै पूर्वखेलाडी समेत रहेका मार्कोस लोरेन्टोको उत्कृष्ट पासमा लुइस स्वारेजले लो प्रहारमा गोल गरेका थिए । स्वारेजले रियलका गोलकिपर थिबाउट कोर्टुवाको टाङ मुनिबाट बललाई जाली चुमाएका थिए ।

यता, पहिलो हाफमा रियल भने दबाबमा देखियो । उसले बल समेत कम आफ्नो पक्षमा राख्यो भने गोलका राम्रा अवसर पनि सिर्जना गर्न सकेन । पहिलो हाफमा रियलले ५ पटक आक्रमणको मुभ बनाउँदा एकपटक मात्रै अन टार्गेट प्रहार गर्न सक्यो । आजको खेलमा जित्नैपर्ने दबाबमा रहेको पाहुना टोली रियलमाथि अब दोस्रो हाफमा कमब्याक गर्नुपर्ने चुनौती छ । यदि आज पनि पराजित भए रियलका लागि यो सिजनको उपाधि होड झनै कठिन बन्नेछ ।

प्रकाशित मिति २३ फाल्गुन २०७७, आईतवार २१:४८
Loading...