बार्सिलोनाका खेलाडी भन्छन्– ‘पिएसजीविरुद्ध नतिजा उल्ट्याउन मर्नबाहेक सबैथोक गर्नेछौं’

एजेन्सी, फागुन २३

युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत दोस्रो लेगको नतिजा उल्टाउन आफूहरूले ‘मर्नबाहेक’ सबैथोक गर्ने दाबी बार्सिलोनाका खेलाडी जोर्डी अल्बाले गरेका छन् । गत राति ला लिगामा ओसासुनामाथि अवे मैदानमा ०–२ को नतिजा निकालेपछि मिडियासँग प्रतिक्रिया दिँदै स्पेनिस डिफेन्डरले पिएसजीलाई सन्देश दिएका छन् कि, बार्सिलोना पेरिस त्यसै जानेछैन । गत राति बार्सिलोनाको जितमा अल्बाले पनि पहिलो गोल निकै शानदार ढंगले गरेका थिए । उनी पछिल्लो समय उच्च लयमा खेलिरहेका छन् । अब बार्सिलोनाले च्याम्पियन्स लिगमा पिएसजीसँगको खेल यसै साता खेल्ने तालिका छ । दोस्रो लेगको निर्णायक खेल खेल्न बार्सिलोना पिएसजीको घरेलु मैदानमा जानेछ । यो खेलमाथि सिंगो फुटबल जगतको नजर रहेको छ ।

यसअघि आफ्नो घरेलु मैदानमा भएको खेल बार्सिलोनाले १–४ को लज्जास्पद हार चाखेको थियो । सो हारपछि धेरैले बार्सिलोना अन्तिम १६ बाटै आउट हुने अनुमान गरिरहेका छन् । किनभने, अब पिएसजीको घरमा बार्सिलोनालाई १–४ को नतिजा उल्टाउन सजिलो छैन । आफ्नै घरमा १–४ ले हारेको उसले पिएसजीको घरेलु मैदानमा १ गोल पनि नखाई ०–४ को जित निकाल्नुपर्छ । तर, पिएसजी भने आफ्नो घरमा ०–३ ले हार्दासम्म पनि कुनै फरक पर्नेछैन । यदि आफ्नो घरमा पिएसजीले मात्रै १ गोल गरे बार्सिलोनालाई कमब्याक गर्न कूल ५ गोल नै गर्नुपर्छ । यसअघि पिएसजी आफ्ना प्रमुख फरवार्ड नइमारबिनै खेलेको थियो । तर, यसपटक पिएसजी आफ्नो मैदानमा खेल्दा नेइमार पनि चोटमुक्त भएर टोलीमा फर्किनेछन् ।

यस्तो कठिन र चुनौतीबीच रहेको बार्सिलोना भने अझै पनि पिएसजीको घरमा नाटकीय कमब्याक गर्न सकिनेमा आशावादी छ । र, उसले त्यसका लागि सबै अस्त्र प्रयोग गर्ने टोलीका खेलाडी अल्बाले गरेका छन् । गत राति ओसासुनासँगको खेलपछि अल्बाले पिएसजीसँगको खेलबारे सटिक तथा कडा भनाइ राखे । ‘हिजोसम्म हामीले पिएसजीबारे सोचेका थिएनौं । तर, आजैबाट हामी यसबारे सोच्न र तयारी थाल्नेछौं । अब हामी जुन खेल खेल्न गइरहेका छौं, त्यो सिजनकै सबैभन्दा महत्त्वपूर्ण खेल हो,’ अल्बाले भनेका छन्, ‘हामी यो खेलमा नतिजा उल्ट्याउन मर्नबाहेक सबथोक गर्नेछौं । बार्सिलोना जितको लक्ष्यसाथ पेरिस जानेछ । ९० मिनेटको खेल बाँकी छ, यस समयमा जे पनि हुन सक्छ । हामीलाई यो खेलको दबाब र मूल्य थाहा छ ।’

प्रकाशित मिति २३ फाल्गुन २०७७, आईतवार २०:३०
Loading...