प्रिमियर लिगमा आज म्यानचेस्टर डर्बी भिडन्त : सिटीको विजय यात्रा टुंग्याउने युनाइटेडको दाउ

काठमाडौं, फागुन २३

इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति चर्चित खेल म्यानेचस्टर डर्बी भिडन्त हुँदैछ, जहाँ म्यानचेस्टर सहरका दुई ठूला टोलीहरू म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड यो सिजनको दोस्रो भिडन्तका लागि आमनेसामने हुँदैछन् । यो खेल सिटीको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १०ः१५ बजेबाट सुरु हुनेछ । आजको खेल उपाधि होडमा सिटीका लागि उति महत्त्वपूर्ण छैन । किनभने, ऊसँग अहिले नै फराकिलो अग्रता छ । तर, युनाइटेडका लागि भने सिटीसँग अंक दूरी घटाउनका लागि महत्त्वपूर्ण हुनेछ । यसअघि भएको सिजनको पहिलो म्यानचेस्टर डर्बी भने ०–० को बराबरीमा सकिएको थियो । आज दोस्रो डर्बी खेल्दा सिटी आफ्नो लगातारको विजयी यात्रा कायमै राख्ने दाउमा हुनेछ भने युनाइटेड सिटीको २१ खेलसम्मको लामो विजयी यात्रामा पूर्णविराम लगाउने दाउमा हुनेछ ।

सिटी सबैखाले प्रतियोगिताबाट पछिल्ला २१ खेलमा लगातार जियी छ भने पछिल्ला २७ खेलमा अपारजित रहेको जितेको छ । त्यसैगरी, उसले लिगमा पछिल्ला १५ खेलमा लगातार जित हात पारेको छ । आज घरेलु मैदानमा उत्रिँदा सिटी लिगमा लगातार १६औं जितको खोजीमा हुनेछ । आज सिटीको घरेलु मैदानमा उत्रिँदा युनाइटेड भने सिटीको लामो र शानदार यात्रा उसकै घरेलु मैदानमा पूर्णविराम लगाउने दाउमा छ । हाल अंक तालिकामा सिटी २७ खेलपछि ६५ अंक बनाएर शीर्ष स्थानमा रहेको छ । २८ खेलबाट ५३ अंक बनाएको लेस्टर सिटी दोस्रो स्थानमा छ भने २७ खेलपछि ५१ अंक भएको युनाइटेड तेस्रो स्थानमा छ । हालको अवस्थामा युनाइटेड १४ अंकले पछि परिसकेको छ । यदि आज सिटीलाई हराउन सके युनाइेड दोस्रो स्थानको लेस्टरलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिनेछ ।

प्रकाशित मिति २३ फाल्गुन २०७७, आईतवार १५:५३
Loading...