ला लिगामा आज सिजनको दोस्रो ‘मड्रिड डर्बी’ भिडन्त हुँदै

काठमाडौं, फागुन २३

स्पेनिस ला लिगा फुटबलमा दोस्रो ठूलो भिडन्त मानिने मड्रिड डर्बी अन्तर्गत जारी सिजनको दोस्रो खेल आज राति हुँदैछ । आज एथ्लेटिको मड्रिड र रियल मड्रिड यो सिजनको दोस्रो खेलका लागि आमनेसामने हुँदैछन् । मड्रिड सहरका दुई चीर प्रतिद्वन्द्वी टोलीहरू भिड्दा यो खेलमाथि धेरैको नजर हुनेछ । खेल नेपाली समयअनुसार राति ठीक ९ बजेबाट एथ्लेटिकोको घरेलु वान्डा मेट्रोपोलिटानो रंगशालामा हुनेछ । यसअघि गत डिसेबर १३ तारिखमा भएको सिजनको पहिलो भिडन्तमा रियलले २–० को जित निकालेको थियो । रियलको घरमा भएको सो खेलमा कासेमिरोले १ गोल गरेका थिए अर्को गोल उपहारमा पाएको थियो । अंक तालिकामा हाल एथ्लेटिको शीर्ष स्थानमा रहेको छ भने रियल तेस्रो स्थानमा छ । बार्सिलोना दोस्रो स्थानमा रहेको छ । बार्सिलोनाले गत राति २६औं चरणको खेलमा २–० को जित हात पारेको छ ।

हाल लिग लिडर एथ्लेटिकोले २४ खेलबाट कूल ५८ अंक जोडेको छ । यो सिजन उसले १८ खेल जितेर ४ खेल बराबरी गर्दा २ खेल मात्रै हारेको छ । यता, आज एथ्लेटिकोको घरमा उत्रिन लागेको रियलले हालसम्म २५ खेलबाट कूल ५३ अंक जोडेर तेस्रो स्थानमा छ । हालको अवस्थामा रियल दोस्रो स्थानको बार्सिलोनाभन्दा ३ अंक र लिग लिडर एथ्लेटिकोभन्दा ५ अंकले पछि रहेको छ । तर, रियलले बार्सिलोनाभन्दा एक खेल कम र एथ्लेटिकोभन्दा एक खेल बढी खेलेको छ । जारी सिजन रियलले १६ खेल जितेर ५ खेल बराबरी गर्दा ४ खेल हारेको छ । उपाधि होडमा रियल कायमै रहे पनि प्रतिस्पर्धा बढाउन उसलाई आज हुने डर्बी भिडन्त जित्नैपर्ने दबाब छ । यदि यो खेल जिते उसले बार्सिलोनासँग अंक बराबरी मात्रै गर्दैन, एथ्लेटिकोसँगको दूरी पनि २ मा झार्नेछ ।

लिग लिडर एथ्लेटिको मड्रिडको पछिल्ला खेललाई हेर्दा रियलभन्दा कमजोर अवस्थामा छ । उसले पछिल्ला ५ खेलमध्ये २ खेल मात्रै जितेर १ खेल हार्दा २ खेल बराबरी गरेको छ । यता, रियल भने पछिल्ला ५ खेलमा अपराजित छ । उसले अघिल्लो खेल बराबरी गर्दा त्यसअघिका ४ खेलमा लगातार जित हात पारेको थियो । रियल आज लिग लिडरलाई हराएर जितको बाटो र उपाधि होडमा पनि फर्किने दाउमा छ । आज दुवै टोलीले पहिलो रोजाइका खेलाडी उतार्नेछ । रियलको टोलीमा करिम बेन्जेमा, फेडे भाल्भर्डे, रोड्रिगो बेन्टाकुर सहितका प्रमुख खेलाडी चोटमुक्त हुँदै मैदान फर्किंदैछन् भने गोल पोस्टमा थिबाउट कोर्टुवा ठीकठाक छन् । यता, एथ्लेटिकोको टोलीमा पनि आज खास समस्या छैन । गोलकिपर जान ओब्लाकदेखि लुइस स्वारेज, जुआओ फेलिक्स, साउल, कारास्कोसहितका सबै प्रमुख खेलाडी टोलीमा उपलबध छन् ।

प्रकाशित मिति २३ फाल्गुन २०७७, आईतवार ११:२५
Loading...