लेवान्डोस्की भर्सेस हल्यान्ड : आज बार्यन र डर्टमुन्डको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, फागुन २२

जर्मन लिग बुन्डेसलिगा फुटबल प्रतियोगितामा आज राति लिगकै सबसे ठूलो खेल हुँदैछ, जहाँ साबिक च्याम्पियन बार्यन म्युनिख र अर्को बलियो टोली बोरुसिया डर्टमुन्ड सिजनको दोस्रो खेल खेल्न आमनेसामने हुँदैछन् । यो खेल बार्यनका घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक ११ः१५ बजेबाट सुरु हुनेछ । यसअघि गत नोभेम्बर ७ तारिखमा भएको सिजनको पहिलो भिडतमा बार्यनले डर्टमुन्डलाई उसकै घरेलु मैदानमा २–३ ले हराएको थियो । आज राति बार्यनको घरेलु मैदानमा उत्रिँदा डर्टमुन्ड पहिलो लेगमा भोगेको पराजयको बदला लिने दाउमा हुनेछ भने बार्यन पाहुना टोलीसँग अघिल्लै लेगको जस्तो नतिजा दोहोराउने दाउमा हुनेछ । लिगकै दुई ठूला टोलीको भिडन्त हुने भएकाले यो खेलमाथि धेरैको नजर रहेको छ । हाल अंक तालिकामा बार्यन २३ खेलपछि कूल ५२ अंकका साथ शीर्ष स्थानमा रहेको छ । जारी सिजन उसले १६ खेल जितेर ४ खेल बराबरी गर्दा ३ खेल हारको छ ।

हालको अवस्थामा बार्यन अहिले दोस्रो स्थानको आरबी लेइपजिगभन्दा मात्रै २ अंकले अघि रहेको छ । बार्यनले लिगका पछिल्ला ५ मध्ये ३ खेल जितेर १ खेल हारेको छ भने १ खेल बराबरी गरेको छ । दोस्रो स्थानको लेइपजिगले भने पछिल्ला ५ वटा खेल सबै जितेको छ । आज आफ्नो घरमा उत्रिँदा बार्यन स्पष्ट जितको खोजीमा रहँदा ऊमाथि ठूलै दबाब हुने पक्का छ । यता, डर्टमुन्ड हाल २३ खेलपछि ३९ अंक बनाएर मात्रै पाँचौं स्थानमा रहेको छ । अंक तालिकामा अवस्था सुधार गर्न डर्टमुन्डका लागि आजको खेल अति नै महत्त्वपूर्ण हनेछ । यो खेल जिते ऊ लिगको चौथो स्थानमा उक्लिने मौका छ । तर, त्यसका लागि आजै आफ्नो खेलमा फ्रान्कफुर्ट पराजित हुनुपर्छ । र, डर्टमुन्डले भने आफ्नो खेल जित्नुपर्छ । आज दोस्रो स्थानको आरबी लेइपजिगले ८ः१५ बजेबाट एसी फ्रेइवर्गसँग आफ्नो खेल खेल्दै छ ।

प्रकाशित मिति २२ फाल्गुन २०७७, शनिबार १४:१६
Loading...