सिरी ए : आज युभेन्टस र लाजियोका रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, फागुन २२

इटालियन सिरी ए लिग फुटबल प्रतियोगितामा आज एक हेभिवेट भिडन्त हुँदैछ, जहाँ साबिक विजेता युभेन्टस र लिगको अर्को बलियो टोली लाजियो सिजनको दोस्रो खेलमा आमनेसामने हुँदैछन् । यो खेल युभेन्सको घरेलु मैदान एलिनाज रंगशालामा नेपाली समयअनुसार राति ठीक १ः३० बजेबाट सुरु हुनेछ । यो सिजन कमजोर अवस्थामा रहेको युभेन्टस अहिले २४ खेलपछि कूल ४९ अंकसहित तेस्रो स्थानमा छ । यो सिजन उनले १४ खेल जितेर ७ खेल बराबरी गर्दा ३ खेल हारेको छ । ताजा अवस्थामा युभेन्टस लिग लिडर इन्टर भिलानभन्दा १० अंकले पछि छ । तर, युभेन्टसले मिलानको भन्दा एक खेल कम खेलेको छ । यता, युभेन्टस दोस्रो स्थानको एसी मिलानभन्दा ४ अंकले पछि छ । मिलानभन्दा पनि युभेन्टसले एक खेल नै कम खेलेको छ । यसअघि लाजियोको घरमा भएको पहिलो लेगको खेल १–१ को बराबरीमा सकिएको थियो ।

यता, आज युभेन्टसको घरेलु मैदानमा उत्रिन लागेको लाजियो हाल २४ खेलपछि ४३ अंकका साथ सातौं स्थानमा छ । यो सिजन उसले १३ खेल जितेर ४ खेल बराबरी गर्दा ७ खेल हारेको छ । हालको अवस्थामा लाजियो युभेन्टसभन्दा समान खेलपछि ६ अंकले पछि परेको छ । लिगका पछिल्ला ५ खेलमा लाजियोले ३ खेल जितेर २ खेल बराबरी गर्दा युभेन्टसले ५ मध्ये ३ खेल मात्रै जितेर १ खेल हारेको छ भने १ खेल बराबरी गरेको छ । आज घरेलु मैदानमा लिगको एक मजबुत टोलीको सामना गर्दा युभेन्टस ठूलै दबाबमा हुनेछ । आजको खेलमा टोलीका प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डो, प्रमुख गोलकिपर सिजेस्नी, फेडरिको किइजा, वेस्टन म्याकेनीसहितका खेलाडी उपलब्ध हुनेछन् । तर, लामो समयदेखि घाइते अवस्थामा रहेका फरवार्ड पाउलो डिबाला आजको खेलमा पनि उपलब्ध हुनेमा यकिन छैन । युभेन्टस आजको खेलमा स्पष्ट जित निकालेर उपाधि होडमा प्रतिस्पर्धा कायमै राख्न चाहन्छ । त्यसका लागि उसले बलियो टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति २२ फाल्गुन २०७७, शनिबार १३:०९
Loading...