सेभिल्लाविरुद्ध कमब्याक गरेपछि ‘हौसिएका’ कोम्यानले पिएसजीलाई पठाए ‘चेतावनीमूलक’ सन्देश

काठमाडौं, फागुन २

स्पेनिस क्लब बार्सिलोनाका प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यानले युरोपियन च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पिएसजीविरुद्ध कमब्याक गरेर देखाउने दाबी गरेका छन् । गत राति कोपा डेल रे फुटबलमा सेभिल्लाविरुद्ध २–० को नतिजा उल्टाउन नाटकीय ३–० को कमब्याक जित निकालेपछि हौसिएका कोम्यानले खेलपछि निकै उत्साहित हुँदै प्रतिक्रिया दिएका थिए । क्याम्प नोउ रंगशालामा बार्सिलोनालाई कोपाको दोस्रो लेगमा नतिजा उल्टाउन कम्तीमा ३–० के जित आवश्यक थियो, जुन उसले १२० मिनेटसम्म खेलेर पूरा गरेर छाड्यो । पहिलो लेगमा सेभिल्लाको घरमा २–० ले हारे पनि बार्सिलोनाले घरेलु मैदानमा ३–० को नतिजा निकाल्दा सेभिल्ला फाइनल नजिक पुगेर पनि स्तब्ध बन्यो । सेभिल्लाले बार्सिलोनाविरुद्ध पाएको पेनाल्टीमा गोल गर्न नसक्नु नै हारको प्रमुख कारण बन्यो । लुकास ओकाम्पसले खेलको ७७औं मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका थिए भने खेलको कहानी नै अर्कै हुने थियो । जे होस्, बार्सिलोना प्रतियोगितबाट आउट हुने बहुत नजिक पुगेर पनि खेलमा फर्कियो । र, फाइनल प्रवेश गरेको छ ।

सेभिल्लाविरुद्ध कठिन कमब्याक गरेपछि बार्सिलोनाले अब च्याम्पियन्स लिगमा पनि अर्को चमत्कारिक कमब्याक गरेर देखाउने दाबी प्रशिक्षक कोम्यानले गरेका छन् । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना आफ्नै घरमा १–४ले हारेको छ । अब दोस्रो लेग अर्को साता पिएसीको घरमा हुनेछ । सो खेलमा बार्सिलोनालाई नतिजा उल्ट्याउन १ गोल पनि नखाई कम्तीमा ०–४ को नतिजा चाहिनेछ, जुन सजिलो छैन । पहिलो लेगमा घरमै ४ गोल खाने बार्सिलोनाले पिएसजीको घरमा गएर गोल नखाई ४ गोल गर्न कुनै चमत्कार नै चल्नुपर्ला । तर, डच प्रशिक्षक कोम्यानले पनि अब बार्सिलोनाले च्याम्पियन्स लिगमा पिएसजीविरुद्ध अर्को चमत्कार गरेर देखाउने बताएका छन् । सेभिल्लासँगको कमब्याकले टिम उच्च मनोबलमा पुगेको कोम्यानले खेलपछि मिडियासँग कुरा गर्दै बताए । ‘बार्सा टिभी’सँग उनले पिएसजीसँगको खेलबारे पनि धारणा राखेका थिए । जहाँबाट उनले चेतावनीमूलक रूपमा पिएसजीलाई खतरापूर्ण सन्देश दिएका छन् ।

‘आज हामी एकदमै खुसी छौं । हामीले निर्णायक घडीमा चाहिएको नतिजा निकाल्यौं । पहिलो लेग २–० ले हारेको अवस्थामा आज ३–० को नतिजा निकाल्न सजिलो थिएन । तर, हामीले यसलाई सम्भव तुल्यायौं । यो सिंगो टिमको मेहनत र अन्तिम समयसम्मको संघर्षबाट सम्भव भएको हो । म सबै खेलाडीलाई धन्यवाद दिन चाहन्छु । हामीले आज समर्थकहरूलाई खुसी फर्काउन सक्यौं,’ कोम्यानले भनेका छन्, ‘आज टिमले जुन मेहनत, आत्मविश्वास र संघर्षका साथ खेल्यो, त्यो प्रशंसनीय थियो । जब पिकेले ९४औं मिनेटमा गोल गरेर खेल बराबरी बनाए, अब हामी जित्छौं भन्ने मलाई लागिसकेको थियो । गोलपिकर (टर स्टेगेन) ले सेभिल्लाको पेनाल्टी रोकेर हामीलाई खेलमा जीवितै राखेका थिए । आजको खेलमा जितका लागि टर्निङ प्वाइन्ट ल्याउने उनी र पिके नै हुन् । उनीहरूबाट आज बहुत खुसी छु । म सबै खेलाडीबाट खुसी छु । किनभने, कठिन मानिएको पुनरागमन गरेर हामी फाइनल पुगेका छौं ।’

कोम्यानले कमब्याक गर्ने पालो अब पिएसजीसँग रहेको भन्दै खेलाडीलाई अहिलेकै मनोबल र जोश कायम राख्न पनि अनुरोध गरेका छन् । पिएसजीसँग खेल्न पेरिस जाँदा बार्सिलोनाले ०–४ भन्दा ठूलो नतिजाको लक्ष्य लिएर जानुपर्ने भनाइ उनले राखेका छन् । ‘पुनरागमन गर्ने पालो अब पिएसजीसँग । यो जितले हामी च्याम्पियन्स लिगमा पिएसजीविरुद्ध कमब्याक गर्न सक्षम छौं र तयार छौं भन्ने साबित गरेको छ । टिमले आजकै जस्तो अठोट, सोच र लक्ष्य लिएर पेरिस जानुपर्छ । हामी पहिलो लेग १–४ ले हारेका छौं । हामीलाई दोस्रो लेगमा कम्तीमा ०–४ को नतिजा चाहिन्छ । तर, हामीले त्योभन्दा ठूलो जितको लक्ष्य लिएर खेल्नुपर्छ । ९० मिनेटमा जे पनि सम्भव हुन्छ । त्यसका लागि हामी सबै स्टाफ र टिमले अठोट गर्नुपर्छ । र, योजना–रणनीतिअनुसार मैदानमा परिचालित हुनुपर्छ । अब हामीले प्रमुख ध्यान पिएसजीसँगको खेलमाथि लगाउनेछौं । त्यसपछि ला लिगामा । मलाई विश्वास छ– हामी पेरिसबाट फर्किंदा जितको खुसी मनाउँदै फर्किनेछौं ।’

प्रकाशित मिति २० फाल्गुन २०७७, बिहीबार ११:४४
Loading...