युरो कप २०२० : १०० दिनको ‘काउन्टडाउन’ आजदेखि सुरु

काठमाडौं, फागुन १९

यस वर्ष २०२१ मा हुने युरोपको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता युरो कपका लागि १०० दिनको काउन्टडाउन आजदेखि सुरु भएको छ । अर्थात्, आजको मितिले ठीक १०० दिनपछि युरो कप–२०२० सुरु हुनेछ । गत वर्ष २०२० मै आयोजना हुने गरी तय भएको प्रतियोगिता विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण एक वर्षपछि सरेको थियो । त्यसबेला कोरोनाले सारा विश्व प्रभावित हुँदा विश्वभर फुटबल गतिविधिसमेत ठप्प भएका थिए । जसमा युरो कप सहितका सबै अन्तर्राष्ट्रिय प्रतियोगिता स्थगित भएका थिए । यस वर्ष हुन लागेको युरो कप १६औं संस्करणको हो । यो प्रतियोगिता यस वर्ष (२०२१) मा हुने भए पनि प्रतियोगिताको नाम भने ‘युरो कप २०२०’ रहने युइएफएले अफिसियल रूपमै निर्णय गरिसकेको छ । गत वर्ष नै हुनुपर्ने प्रतियोगिता विशेष कारणले सरेर यस वर्ष हुने भए पछि प्रतिोगिताको नाम अघिल्लो वर्षमा आधारित हुनेछ ।

यसपटकको युरो कपमा पनि विगत झैं विभिन्न २४ टिमले प्रतिस्पर्धा गर्दैछन् । यसका लागि गत वर्ष नै छनौट खेल पूरा भइसकेका छन् । प्ले अफ्बाट आउने टोलीको समेत टुंगो लागिसकेको छ । यस संस्करणको प्रतियोगिता २०२१ को जुन ११ देखि जुलाई ११ सम्म अर्थात् एक महिनासम्म चल्नेछ । यस संस्करणको प्रतियोगिता कुनै एक देश मात्रै नभई युरोपका विभिन्न १२ देशले आयोजना गर्दैछन् । जसमा चरणबद्ध रूपमा विभिन्न देशले आयोजनाको जिम्मा पाएका छन् । समूह चरणदेखि फाइनलसम्म पुग्दा १२ देशका १२ सहरमा प्रतियोगिता चल्नेछ । जसमा यसपटक सेमिफाइनल र फाइनल चरणका खेल इंग्ल्यान्डमा हुनेछन् । सोही देशमा समूह चरणका केही खेलसमेत हुनेछन् । यसअघि सन् २०१६ मा भएको युरो कप पोर्चुगले जितेको थियो । आयोजक फ्रान्सलाई उसकै भूमिमा ०–१ ले हराएर पोर्चुगल पहिलोपटक युरो च्याम्पियन बनेको थियो ।

प्रकाशित मिति १९ फाल्गुन २०७७, बुधबार १८:४३
Loading...