अन्सु फातीले छाने आफ्ना टप–५ खेलाडी : को–को रोजे ?

एजेन्सी, फागुन १९

स्पेनिस फुटबल क्लब बार्सिलोना तथा स्पेनका युवा स्टार अन्सु फातीले आफ्ना लागि समकालीन फुटबलका टप–५ खेलाडी छानेका छन् । एक अन्तर्वार्तामा कुरा गर्दै १८ वर्षीय फातीलाई आफ्ना लागि टप–५ खेलाडीको नाम लिन भनिएको थियो, जसमा उनले ४ जना बार्सिलोनाकै लिजेन्ड खेलाडीहरूको नाम लिएका छन् भने १ जना त्यसभन्दा बाहिरका । अहिले चोटका कारण फिट हुनेक्रममा रहेका उनी केही समयअघि मात्रै लाउरेअस युवा खेलकुद अवार्डका लागि मनोनयनमा परेका थिए । उनी बार्सिलोनामा अहिलेका सबैभन्दा स्टार युवा खेलाडी हुन् । दुई वर्षअघि नै १६ वर्षको उमेरमा बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गरेका उनले क्लब बार्सिलोना, ला लिगा र च्याम्पियन्स लिगको इतिहासमै सबैभन्दा कान्छा गोलकर्ताको दुर्लभ रेकर्ड बनाइसकेका छन् । धेरैले त उनलाई बार्सिलोनामा कप्तान लिओनल मेस्सीको उत्तराधिकारी भनेर पनि चर्चा गर्ने गरेका छन् ।

उनै फातीले आफ्नो टप–५ खेलाडीमा हालका कप्तान तथा सहकर्मी लिओनल मेस्सीसहित ५ जना खेलाडी छानेका छन् । उनले ४ जनामध्ये ३ जना बार्सिलोनाकै पूर्वखेलाडी छानेका छन् भने एकमा रियल मड्रिडका पूर्वखेलाडी तथा हाल इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई पनि उनले आफ्ना टप–५ खेलाडीमा राखेका छन् । फातीले छानेका ५ जनामध्ये भिक्टोर भाल्डेज बार्सिलोनाका लिजेन्ड गोलकिपर हुन् भने कार्लेस पुयोल पूर्वकप्तान हुन् । उनले बार्सिलोनाकै पूर्वकप्तानद्वय जाभी र इनिएस्टामध्ये एकलाई मात्रै छान्ने बताएका भने हालका कप्तन मेस्सीलाई पनि रोजेका छन् । तर, फरक के छ भने, आफ्ना टप–५ खेलाडीमा उनले मेस्सीका खास प्रतिस्पर्धी रोनाल्डोलाई पनि रोजेका छन् । तपाईं आफू खेल्ने टिममा टप–५ खेलाडीलाई आफ्ना सहकर्मीका रूपमा छान्न पाउनुभयो भने क–कसलाई लिनुहुन्छ भनेर सोधिएकोमा फातीले भनेका छन्, ‘भिक्टोर भाल्डेज, पुयोल, जाभी र इनिएस्टामध्ये एक, मेस्सी अनि क्रिस्टियानो रोनाल्डो ।’

फातीलाई करिअरमा जित्न चाहेका उपाधिमध्ये सबैभन्दा पहिला कुन जित्न चाहनुहुन्छ भनेर सोधिएकोमा उनले च्याम्पियन्स लिग र विश्वकप–युरो कपको नाम लिएका छन् । त्यसो त उनले सबै उपाधि जित्न चाहने पनि बताएका छन् । आफूले बार्सिलोना र स्पेनको टोलीबाट हरेक उपाधि जित्ने सपना रहेको उल्लेख गरेका छन् । फातीले भनेका छन्– ‘यो अहिले नै भन्न कठिन हुन्छ । तर, मेरो चाहना वा सपनाको कुरा गर्नुहुन्छ भने सबैभन्दा पहिला म अन्तर्राष्ट्रिय उपाधि जित्न चाहन्छु, त्यो विश्वकप वा युरो कप जे होस् । त्यसपछि म च्याम्पियन्स लिग जित्न चाहन्छु । एक खेलाडीका लागि यी उपाधि जित्नुको अर्थ र महत्त्व सबैभन्दा ठूलो हुन्छ,’ फातीले भनेका छन्, ‘तर, मेरो समय त भर्खर सुरु भएको छ । र, यो निकै लामो छ । यो यात्रामा म बार्सिलोना र स्पेनको टोलीबाट सबथोक जित्न चाहन्छु । यो मेरो सपना हो ।’

प्रकाशित मिति १९ फाल्गुन २०७७, बुधबार १५:४०
Loading...