डर्टमुन्ड जर्मन कपको सेमिफाइनलमा : सान्चो बने नायक

काठमाडौं, फागुन १९

बोरुसिया डर्टमुन्ड जर्मन कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । गत राति भएको क्वार्टरफाइनल खेलमा डर्टमुन्डले मोन्चेङ्लाडवाचमाथि ०–१ को संघर्षपूर्ण जित निकाल्दै अन्तिम चारमा स्थान तय गरेको हो । बुन्डेसलिगाका दुई बलिया टोली बोरुसिया पार्कमा भिड्दा डर्टमुन्डका लागि इंग्लिस खेलाडी जाडोन सान्चो नायक बने । उनको १ मात्रै गोलको मतदमा डर्टमुन्ड अर्को चरण प्रवश गर्न सफल भयो । निकै प्रतिस्पर्धात्मक खेलमा तुलनात्मक रूपमा मोन्चेङ्लाडवाचले खेलमा ज्यादा पकड जमाएको थियो । उसले खेलभरिमा कूल ५४ प्रतिशत बल नियन्त्रणमा राख्यो भने कूल १६ प्रहार गर्दा ५ प्रहार सही दिशामा हानेको थियो । तर, उसले नतिजा भने डर्टमुन्डलाई सुम्पियो ।

पहिलो हाफ गोलरहित ०–० मा सकिएको खेलमा ६६औं मिनेटमा सान्चोले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । उनको गोलमा कप्तान मार्को रेउसले असिस्ट दिएका थिए । सो गोलपछि मोन्चेङ्लाडवाच खेलमा फर्किन सकेन । र, खेल डर्टमुन्डले ०–१ ले जित्यो । यस खेलमा गरेको गोल सँगै सान्चोले वर्ष २०२१ मा उत्कृष्ट लय कायमै राखेका छन् । उनले यस वर्ष मात्रै कूल १३ खेल खेल्दै ८ गोल गरेका छन् भने ७ गोलमा असिस्ट प्रदान गरेका छन् । उनी १३ खेलबाट सोझै १५ गोलमा सहभागी भएका छन्, जुन डर्टमुन्डका अन्य कुनै पनि खेलाडीको भन्दा बढी हो ।

प्रकाशित मिति १९ फाल्गुन २०७७, बुधबार १०:०५
Loading...