आज युभेन्टस र स्पेजिया भिड्दै : युभेन्टसमाथि चर्को दबाब

काठमाडौं, फागुन १८

इटालियन सिरी ए लिग फुटबलमा यो सिजन उपाधि होडमा निकै कमजोर अवस्थामा रहेको युभेन्टसले आज आफ्नो २४औं साताको खेल खेल्दै छ । यो खेलका लागि उसले १५औं स्थानको स्पेजियालाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दै छ । यो खेल नेपाली समयअनुसार राति ठीक १ः३० बजेबाट सुरु हुनेछ । आजको खेल युभेन्टसका लागि निकै महत्त्वपूर्ण र दबाबपूर्ण हुनेछ । यसअघि अवे मैदानमा भेरोनासँग निराशाजनक १–१ को बराबरीमा रोकिएपछि उपाधि होडमा धक्का व्यहोरेको युभेन्टस आजको खेलबाट जितको बाटोमा फर्किन चाहन्छ । तर, यो खेल पनि उसका लागि सजिलो भने हुनेछैन । किनभने, स्पेजिया त्यही टिम हो, जसले गत साता मात्रै एसी मिलानलाई २–० को अप्रत्यासित हारको सिकार बनाएको थियो । आज युभेन्टसविरुद्ध उत्रिँदा सो टिमले कडा टक्कर दिने पक्का छ । स्पेजिया हाल २४ खेलपछि २५ अंक बनाएर अंक तालिकाको १५औं स्थानमा छ । उसले यो सिजन उसले यो सिजन ६ खेल जितेर ७ खेल बराबरी गर्दा ११ खेल हारेको छ ।

हाल अंक तालिकामा युभेन्टस २३ खेलपछि ४६ अंकका साथ तेस्रो स्थानमा रहेको छ । जारी सिजन उसले २३ खेल सकिँदा १३ खेल जितेर ७ खेल बराबरी गरेको छ भने ३ खेल हारेको छ । हालको अवस्थामा युभेन्टस लिग लिडर इन्टर मिलानभन्दा १० र दोस्रो स्थानको एसी मिलानभन्दा ६ अंकले पछि छ । तर, दुवै मिलानले युभेन्टसको भन्दा एक खेल कम खेलेको छ । यदि आज राति आफ्नो मैदान एलिनाज रंगशालामा पाहुना टोली स्पेजियामाथि स्पष्ट जित निकाल्न सके उसले दोस्रो स्थानको मिलानसँगको दूरी ३ र इन्टरसँगको दूरी ७ मा छोट्याउनेछ । अघिल्लो खेलमा २ अंक गुमाएको युभेन्टस आजको खेलमा ठूलै दबाबमा हुनेछ । अझै पनि उपाधि होडमा फर्किनका लागि युभेन्टसमाथि अबका सबै खेलमा शतप्रतिशत जित निकाल्नैपर्ने दबाब हुनेछ । तर, आजको खेलमा युभेन्टसका प्रशिक्षकले टोलीका केही प्रमुख खेलाडीहरूलाई आराम दिने सम्भावना छ । युभेन्टसले आगामी खेल बलियो टोली लाजियोसँग खेल्ने हुँदा आज केही मुख्य खेलाडीले विश्राम पाउनेछन् ।

प्रकाशित मिति १८ फाल्गुन २०७७, मंगलवार ११:३२
Loading...