भिनिसियसले रियल मड्रिडलाई हारको मुखबाट उद्धार गरे : उपाधि झनै टाढा

काठमाडौं, फागुन १८

स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा फर्किन ठूलै संघर्ष गरिरहेको रियल मड्रिड हारबाट मुस्किलले बचेको छ । लिगको २५औं साताको खेलमा मड्रिड आफ्नै घरेलु मैदानमा पाँचौं स्थानको रियल सोसिडाडसँग हारको नजिक पुगेर अन्तिम समयमा गोल गरेर १–१ को बराबरी गर्दै हारबाट बच्न सफल भएको हो । घरेलु मैदानमा रियल हार नजिक पुगेका बेला सब्सिच्युट खेलाडी भिनिसियस जुनियरले खेलको ८९औं मिनेटमा गरेको १ गोलले रियललाई हारका मुखैबाट उद्धार गर्न सफल भयो । सोही गोलको मदतमा रियलले १ अंक मात्रै जोगाएन, घरमा अप्रत्यासित हारको खराब नतिजा पनि पन्छायो । नेपाली समयअनुसार मंगलबार बिहान भएको खेलमा रियललाई पाहुना टोलीसँग हारबाट बचाउन ब्राजिलियन युवा स्टार भिनिसियस नायक बने ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीबाट कुनै गोल भएन । रियलले सुरुआतबाटै आक्रामक खेल खेल्नेक्रममा खेलभरिमा कूल २० आक्रमण बुनेको थियो । तर, उसले जम्मा २ सट मात्रै अन टार्गेट हानेको थियो । यता, पाहुना टोली सोसिडाडले कूल ६ आक्रमण गर्दा २ सट हान टार्गेट हानेकोमा १ गोल गर्न सफल भयो । पाहुना टोली सोसिडाडले खेलको ५५औं मिनेटमा गोल गरेर अग्रता लिएको थियो ।

मोनरियलको क्रस पासमा मिडफिल्डर पोर्टुले निकै दर्शनीय हेडिङ गोल गरेर खेल ०–१ बनाएका थिए । त्यसपछि ठूलो दबाबमा परेपछि रियलका कोच जिनेदिन जिदानले लगातार फ्रन्ट लाइनमा खेलाडी परिवर्तन गरेर गोल फर्काउने रणनीति लिए पनि रियलले गोलका लागि अन्तिम समयसम्म लड्नु परेको थियो । हार नजिकै पुगेका बेला बेन्चबाट मैदान छिरेका भिनिसियसले लुकास भासक्वेजको क्रस पासमा बक्स भित्रबाट गोल गरेपछि रियल हारबाट बच्यो । र, खेल १–१ मा टुंगियो । खेलभरिमा रियलका लागि सबैभन्दा धेरै कासेमिरोले तीनपटक गोलका अवसर पाएका थिए । तर, उनी पटक–पटक चुक्दा रियलले बराबरी गोलका लागि पनि ८९औं मिनेटसम्म पर्खिनु परेको थियो ।

रियलले आगामी खेलमा सिजनको दोस्रो मड्रिड डर्बीमा एथ्लेटिको मड्रिडसँग खेल्दै छ । यो खेल एथ्लेटिकोको घरेलु मैदानमा हुनेछ । सोसिडाडसँग खेल्दा लिग लिडर एथ्लेटिकोसँग अंक दूरी छोट्याउने अवसर थियो । तर, रियल त्यसमा चुक्यो । अब रियलको खातामा २५ खेलपछि कूल ५३ अंक छ । लिग लिडर एथ्लेटिकोले २४ खलपछि ५८ अंक जाडेको छ । तर, अझै पनि एथ्लेटिकोले एक खेल खेल्नै बाँकी छ । यदि बाँकी खेल पति जिते रियल ८ अंकले पछि पर्नेछ । यता, सोसिडाडसँग रोकिँदा रियल दोस्रो स्थानमा चढ्न पनि पाएन । स्प्ष्ट जितेको भए ऊ बार्सिलोनालाई पछि पार्दै दोस्रोमा चढ्ने थियो । तर, ऊ रोकिँदाको फाइदा बार्सिलोनालाई भयो । अहिले दुवैको समान ५३–५३ अंक भए पनि गोलअन्तरमा बार्सिलोना अघि रहेर दोस्रो स्थानमा छ । यता, रियल सोसिडाड भने २५ खेलपछि ४२ अंकका साथ पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित मिति १८ फाल्गुन २०७७, मंगलवार ०३:४७
Loading...