बार्सिलोनाको कार्यालयमा प्रहरीको छापा : पूर्वअध्यक्ष बार्टोमेउ पक्राउ

एजेन्सी, फागुन १७

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्पेनिस फुटबल क्लब बार्सिलोनाका पूर्वअध्यक्ष जोसेप मारिया बार्टोमेउ पक्राउ गरेका छन् । उनीसहित अन्य केही पूर्वअधिकारीलाई क्याटलान प्रहरीले आज पक्राउ गरेको ताजा रिपोर्टहरूमा उल्लेख छ । बार्टोमेउलाई पद र जिम्मेवारीमा रहँदा भ्रष्टाचार गरेको आरोप लागेको छ । उनले आफ्नो शक्ति र पदको दुरुपयोग गरेर संस्थाको ठूलो सम्पत्ति अपचलन गरेर संस्थालाई धराशायी बनाएको आरोप लागेको छ । हाल ५८ वर्ष पुगेका बार्टोमेउ लामो समयदेखि बार्सिलोनामा विभिन्न तहमा रहेर काम गर्दै आएका थिए । बार्टोमेउ सन् २०१४ सालमा बार्सिलोनाको अध्यक्ष पदमा निर्वाचित भएका थिए । आज प्रहरीले बार्सिलोनाको कार्यालयमा छापा मारेर केही कागजातसमेत नियन्त्रणमा लिएको बताइएको छ । त्यसपछि बार्टोमेउलाई पक्राउ गरिएको हो ।

केही समयअघि क्लबमा विभिन्न विवाद बढेपछि उनले बाध्य भएर अध्यक्ष पदबाट राजीनामा गरेका थिए । यो सिजनको सुरुआतमै सिनियर टोलीका कप्तान लिओनल मेस्सीसँगको खराब सम्बन्धका कारण उनी विवादमा आएका थिए भने पछिल्ला वर्ष क्लबले ठूला उपाधि जित्न नसक्दाको दोष पनि बार्टोमेउमाथि नै लाग्दै आएको थियो । सन् २०१५ देखि यता बार्सिलोनाले च्याम्पियन्स लिग जित्न नसक्दा बार्टोमेउले अध्यक्ष पदमा रहरे प्रभावकारी खेल योजना बनाउन नसकेको र उत्कृष्ट टोली तयार पार्न नसकेको आरोप लाग्दै आएको थियो । यसबाहेक क्लब बिस्तारै ऋणमा डुब्दै जान थालेपछि उनको पदमा धरापमा परेको थियो । जब मेस्सीले क्लब बार्सिलोना छाड्ने निर्णय गरे, त्यसबेला बार्टोमेउले उनलाई क्लब छाड्न दिएका थिएनन् । उनले मेस्सीलाई बिनापैसा कतै जान नदिने भनेर बताएका थिए । तर, त्यसबेला मेस्सीले उनीविरुद्ध मुद्दा नलडी आफ्नो सम्झौताभरि क्लबमै रहन तयार भए ।

सो प्रकरणपछि नै बार्टोमेउ र मेस्सीबीचको सम्बध झनै खराब बनेको थियो भने उनको कमजोर नेतृत्वलाई लिएर पनि त्यसबेलादेखि नै चर्को आलोचना सुरु भएको थियो । सँगैसँगै उनले क्लबभित्र मनोमानी निर्णय गर्न थालेको र क्लबलाई ऋणमा डुबाउँदै लगेको भन्दै बोर्डका अन्य अधिकारीले हस्ताक्षरण समेत संकलन गर्दै उनको राजीनामा माग गर्नेक्रम बढको थियो । अन्तः बोर्डले अविश्वासको प्रस्ताव आफूलाई फाल्ने तयारी गरेपछि बार्टोमेउले नै क्लब छाड्ने फैसला गरेका थिए । उनले २०२० को अन्त्यमा अध्यक्ष पद छाडेका थिए । करिब ३ महिनापछि उनलाई प्रहरीले भ्रष्टाचार आरोपमा पक्राउ गरेको हो । बार्सिलोनाको नयाँ अध्यक्ष पदको चुनावको सारगर्मी बढेकै बेला बार्टोमेउ परेका हुन् । प्रहरीले उनलाई घरबाटै पक्रेको बताइएको छ । उनीसँगै उनको पालाका अन्य केही अधिकारीसमेत पक्राउ परेको रिपोर्टमा उल्लेख छ । तर, पक्राउ पर्नेमा को–को छन् भन्ने कुरा खुलेको छैन ।

प्रकाशित मिति १७ फाल्गुन २०७७, सोमबार १८:३२
Loading...