‘सकिँदै गएका मेस्सी’ करिअरकै तेस्रो ‘बेस्ट फर्म’मा : तथ्यांक हेरौं

काठमाडौं, फागुन १६

जारी सिजन २०२०–२१ सुरु हुँदै गर्दा स्पेनिस फुटबल क्लब बार्सिलोनाका फरवार्ड लिओनल मेस्सी चर्को आलोचनामा थिए । नयाँ सिजनअघि क्लब छाड्ने निर्णय गरेका उनी पछि परिबन्धमा परेर बार्सिलोनामै रहनु परेको थियो । क्लबसँग सम्बन्ध बिग्रिएको अवस्थामा उनी बार्सिलोनामै रहनुपर्ने अवस्थाबाट नयाँ सिजनमा होमिएका उनको सुरुआत निकै तनावपूर्ण र दबाबपूर्ण रह्यो । मानसिक रूपमा तनाव र समस्यामा रहेका मेस्सीको प्रदर्शनमा पनि प्रत्यक्ष असर देखियो । मेस्सीले थुप्रै खेलसम्म गोल गर्न सकेनन् । गरेका सुरुआती गोल पनि लगातार पेनाल्टीमार्फत् गरे । यो सिजन सुरु भएपछि उनले गरेका सुरुआती ५ सबै गोल पेनाल्टीमार्फत् नै गरेका थिए । च्याम्पियन्स लिगमा त यो सिजन उनले अझैसम्म पनि पेनाल्टीबाहेक १ गोल पनि गर्न सकेका छैनन् । यस्तो अवस्थाबाट गुज्रिँदै गर्दा मेस्सीकै समर्थकहरूमा पनि गहिरो निराशा छायो भने आलोचकहरूले त ‘अब मेस्सी सकिँदै गएको’ भन्नेसम्म टिप्पणी गर्न भ्याए ।

सिजनको सुरुआतमा यस्तो अवस्थामा रहेका उनै मेस्सी ठीक यतिबेला भने उत्कृष्ट लयमा फर्किएका छन् । सबैखाले प्रतियोगिताको नतिजा र प्रदर्शनलाई हेर्दा पनि व्यक्तिगत रूपमा मेस्सीको अवस्था सिजनको सुरुआतमा भन्दा उल्लेख्य सुधार भएको अवस्था छ । उनले गरेका गोल संख्या, असिस्ट र समग्र खेलमा उनले देखाउने प्रभावलाई हेर्ने हो भने मेस्सी अहिले यो सिजनकै सबैभन्दा उत्कृष्ट लयमा देखिएका छन् । भलै, उनको टिम बार्सिलोना अहिले कुनै पनि प्रतियोगितामा सहज अवस्थामा छैन । यसअघि नै सुपर कप हारिसकेको छ भने ला लिगामा पनि बार्सिलोना कठिन अवस्थामै छ । च्याम्पियन्स लिगमा अन्तिम १६ को पहिलो लेगमा त बार्सिलोना आफ्नै घरमा फ्रेनच क्लब पिएसजीसँग १–४ ले पराजित भएको छ भने कोपा डेल रे कपको सेमिफाइनलको पहिलो लेगमा सेभिल्लासँग अवे मैदानमा २–० ले हारेको छ ।

सिजन निर्णायक मोडतर्फ जाँदै गर्दा बार्सिलोनाको अवस्था नाजुक रहँदा मेस्सीले आगामी दिनमा टिमलाई सम्हालेर अघि बढाउन वा सबै प्रतियोगितामा उपाधि होडमा फर्काउन कतिको योगदान दिन सक्छन्, त्यो हेर्न बाँकी छ । हालको अवस्थामा बार्सिलोना ला लिगामा एथ्लेटिको मड्रिडभन्दा २ अंकले पछि छ । जबकि, एथ्लेटिकोले अझै २ खेल खेल्नै बाँकी छ । उसले यी २ वटै खेल जिते बार्सिलोना ८ अंकले पछि पर्नेछ । यसबाहेक च्याम्पियन्स लिगमा पिएसजीको घरमा दोस्रो लेग खेल्न जाँदा बार्सिलोनालाई १–४ को नतिजा उल्टाउनुपर्ने दबाब हुनेछ । यता, कोपाको सेमिफाइनलमा ३ दिनपछि हुने दोस्रो लेगको खेलमा आफ्नो घरमा सेभिल्लासँग २–० को नतिजा उल्टाउनुपर्ने दबाब छ । यसरी हेर्दा बार्सिलोना अहिलेकै अवस्थामा बाँकी सबै प्रतियोगितामा पछि परेको छ । र, ऊमाथि सबै प्रतियोगितामा चमत्कारिक कमब्याक गरेर उपाधि होडमा फर्किुनपर्ने दबाब छ, जुन निकै कठिन र चुनौतीपूर्ण छ । अब यस्तो समस्याबीच बार्सिलोनालाई यदि कसैको सबैभन्दा धेरै आशा र भर छ भने उनी मेस्सी नै हुन् ।

खराब सुरुआत गरेका मेस्सी ला लिगामा करिअरकै तेस्रो बेस्ट लयमा

क्लब बार्सिलोनाले आफ्नो अफिसियल वेबसाइटमा उल्लेख गरेको तथ्यांकअनुसार मेस्सी यतिबेला घरेलु लिग ला लिगामा करिअरकै तेस्रो बेस्ट लयमा छन् । मेस्सीले ला लिगाका पछिल्ला ८ खेलमा लगातार गोल गरेका छन्, जुन उनको करिअरकै तेस्रो सबैभन्दा लामो गोल यात्राको रेकर्ड हो । मेस्सीले ला लिगाको १७ वर्षे यात्रामा तीन पटकसम्म कम्तीमा ८ खेलसम्म लगातार गोल गरेका छन् । र, यसपटकको लगातार ८ खेलको गोलको रेकर्ड त्यसमध्ये एक रहेको बार्सिलोनाले उल्लेख गरेको छ । बार्सिलोनाले ला लिगामा खेलेका पछिल्ला ८ खेलमा लगातार गोल गर्दा यी खेलबाट उनले कूल १२ गोल गरेका छन्, जसमा उनले ४ खेलमा त ब्रेस गोल गरेका छन् । यी ८ खेलबाट १२ गोल गर्दा उनले ३ गोलमा असिस्ट पनि गरेका छन् । साथै, यी ८ खेलमध्ये चार खेलमा त मेस्सी नै म्यान अफ् द म्याच घोषित पनि भएका छन्, जुन सबैभन्दा धेरै हो । ताजा अवस्थामा मेस्सी कूल १९ गोलसहित ला लिगाको सर्वाधिक गोलकर्ता छन् ।

प्रकाशित मिति १६ फाल्गुन २०७७, आईतवार १३:०१
Loading...