एमबाप्पे चम्किँदा पिएसजीको शानदार जित : दोस्रोमा उक्लियो

काठमाडौं, फागुन १६

फ्रेन्च लिग वान फुटबलमा साबिक च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फराकिलो जित निकालेको छ । गत राति भएको लिगको २७औं साताको खेलमा पिएसजीले लिगको सबैभन्दा पुछार २०औं स्थानको डिजोनलाई उसकै घरेलु मैदानमा ०–४ को फराकिलो अन्तरले स्तब्ध बनायो । पिएसजीको फराकिलो जितमा फ्रेन्च युवा स्टार केलियन एमबाप्पे नायक बने । उनले उत्कृष्ट प्रदर्शनका साथ २ गोल गरेर टिमलाई जितको हकदार बनाए । यो जितसँगै पिएसजी अंक तालिकाको दोस्रो स्थानमा पनि चढेको छ भने ऊ अब स्पष्ट रूपमै उपाधि होडमा पनि फर्किएको छ । पिएसजी यसअघि अप्रत्यासित रूपमा पराजित भएपछि चर्को आलोचना खेपेको थियो । यो नतिजासँगै पिएसजी जितको बाटोमा पनि फर्किएको छ ।

डिजोनको घरेलु मैदानमा पिएसजीका लागि खेलको छैटौं मिनेटमै युवा स्टार मोइसे किनले गोल गरेर सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि ३२औं मिनेटमा पिएसजीले पेनाल्टीको अवसर पायो, जसमा एमबाप्पेले पेनाल्टी प्रहार गरे । र, गोल गर्दै खेल ०–२ बनाए । त्यसपछि पिएसजीले २ गोल दोस्रो हाफमा हान्यो । ५१औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेर खेल ०–३ बनाउँदा खेलको ८२औं मिनेटमा ड्यानिलो पेरेरियाले अर्को गोल थपेपछि खेल पिएसजीले ०–४ ले जित्यो । अब यो जितपछि पिएसजीको खातामा २७ खेलपछि ५७ अंक भएको छ । ऊ अब एक खेल कम खेलेको लिग लिडर लिलेभन्दा मात्रै १ अंकले पछि परेको छ । यता, पराजित डिजोनको खातामा भने २७ खेलपछि मात्रै १५ अंक छ । यदि लिग लिडर लिलेले आफ्नो २७औं खेल जिते पिएसजी ४ अंकले पछि नै पर्नेछ ।

प्रकाशित मिति १६ फाल्गुन २०७७, आईतवार ०६:५८
Loading...