म्यानचेस्टर सिटीले निकाल्यो लगातार २०औं जित : लिगमा १३ अंकको अग्रता

काठमाडौं, फागुन १५

इंग्लिस प्रिमियर लिग फुटबलमा दुई सिजनअघिको च्याम्पियन म्यानचेस्टर सिटीले लगातार २०औं जित हात पारेको छ । आज उसले घरेलु लिगमा शीर्ष चारमा रहेको वेस्ट ह्यामाथि जित निकाल्दै सबैखाले प्रतियोगितामा लगातार २०औं जित निकालेको हो । त्यसैगरी, सिटीका लागि यो घरेलु लिगमा भने लगातार १२औं जिते हो । पेप ग्वार्डिओलाको नेतृत्वमा रहेको सिटीले सबैखाले प्रतियोगिताबाट पछिल्ला २० खेलमा १०० प्रतिशत जित निकाल्न सफल भएको छ, जुन कुनै पनि क्लबको भन्दा बेस्ट नतिजा हो । त्यत्ति मात्रै हैन, युरोपियन टप–५ लिगमा जारी सिजन लगातार १२औं जित निकाल्ने सिटी एक मात्रै टोली हो । यो जितसँगै सिटी जारी सिजन घरेलु लिगमा स्पष्ट रूपमा उपाधि होडमा सुविधाजनक अग्रतासहित अघि बढेको छ ।

आज आफ्नो घरेलु मैदानमा भएको खेलमा सिटीले पाहुना टोली लिगको चौथो स्थानको वेस्ट ह्यामलाई २–१ ले हरायो । सिटीको जितमा २ जना खेलाडीले गोल गरे । पहिलो गोल खेलको ३०औं मिनेटमा रुबेन डियाजले गरेका थिए । उनी गत समर सिजनमा मात्रै सिटीमा अनुबन्ध भएका पोर्चुगिज डिफेन्डर हुन् । त्यसपछि ४३औं मिनेटमा पाहुना टोली वेस्ट ह्यामका लागि मिकाहिल एन्टोनियोले गोल गरेर खेल १–१ बनाए पनि ६८औं मिनेटमा जोेन स्टानेसले गोल गरेपछि खेल सिटीले २–१ ले जित्यो । यो जितपछि सिटीले लिगका २६ खेलबाट कूल ६२ अंक जोडेको छ । उसले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँग स्पष्ट १३ अंकको अग्रता बनाएको छ । यता, पराजित वेस्ट ह्याम भने २६ खेलपछि ४५ अंकका साथ चौथो स्थानमा यथावत रहेको छ ।

प्रकाशित मिति १५ फाल्गुन २०७७, शनिबार २०:२०
Loading...