‘कोपाको दोस्रो लेग’अघि सेभिल्लालाई डेम्बेलेले दिए कडा चेतावनी

एजेन्सी, फागुन १६

स्पेनिस कोपा डेल रे कप फुटबलमा आगामी बुधबार राति सेमिफाइनलको दोस्रो लेगको निर्णायक खेलमा बार्सिलोना र सेभिल्लाको खेल हुँदैछ । सो खेल बार्सिलोनाको घरेलु मैदानमा हुनेछ । यसअघि सेभिल्लाको मैदानमा फेब्रुअरी १० तारिखमा भएको पहिलो लेगको खेलमा सेभिल्लाले पाहुना टोली बार्सिलोनालाई २–० ले हराएको थियो । अब बार्सिलोनाको घरमा दोस्रो लेगको खेल हुँदा त्यो फाइनल प्रवेशका लागि निर्णयक हुनेछ । सो खेलअघि आउन तीन दिन बाँकी छँदा बार्सिलोनाका फ्रेन्च विंगर उसामान डेम्बेलेले सेभिल्लालाई चेतावनीमूलक सन्देश दिएका छन् । गत राति ला लिगामा बार्सिलोनाले सेभिल्लालाई उसकै घरेलु मैदानमा ०–२ ले पराजित गरेपछि डेम्बेलेले आगामी खेलबारे धारणा राखेका थिए । उनले ‘बार्सा टिभी’ससँग खेलपछि प्रतिक्रिया दिएका थिए ।

गत राति सेभिल्लालाई उसकै मैदानमा हराउनेक्रममा डेम्बेलेले पनि १ सुन्दर गोल गरेका थिए । उनले टिमका लागि खेलको २९औं मिनेटमा कप्तान लिओनल मेस्सीको पासमा निकै सुन्दर गोल गरेका थिए । सो गोलपछि डेम्बेलेले निकै उत्साहपूर्वक गोलको सेलिब्रेसन गरेका थिए । खेल सकिएपछि उनले आगामी खेलबारे भनाइ राखे, जुन खेल कोपाको दोस्रो लेगमा सेभिल्लासँग क्याम्प नोउमा हुँदैछ । कुराकानीक्रममा डेम्बेलेले टिमका लागि गोल गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । ‘मलाई लाग्छ, आज हामीले एक उत्कृष्ट खेल खेल्यौं । आज मैले जुन गोल गरें, त्यसका लागि म बहुत खुसी छु । मलाई गोलका लागि अवसर बनाउन लियोले निकै राम्रो पास दिनुभयो । म उहाँलाई धन्यवाद भन्न चाहन्छु । म यस क्लबका लागि सधैं यसरी नै खेल्न र यस्तै गोलहरू गर्न मन पराउँछु । आज गोल गर्न पाउँदा र टिमलाई सघाउन पाउँदा म एकदमै खुसी छु,’ डेम्बेलेले भने ।

डेम्बेलेले कोपाको दोस्रो लेगमा बार्सिलोना सुन्दर कमब्याक गर्न तयार रहेको सन्देश दिँदै लिग खेलको जितले टिमलाई नयाँ ऊर्जा र आत्मविश्वास प्राप्त गरेको भनाइ राखे । सेभिल्लालाई चेतावनीमूलक सन्देश दिँदै डेम्बेलेले क्याम्प नोउमा सेभिल्लाले बार्सिलोनाको असली रूपमा देख्न पाउने बताए । ‘पहिलो लेग २–० हारेकाले हामीलाई दोस्रो लेग निकै कठिन हुनेवाला छ । तर, यो खेल क्याम्प नोउमा हुनेछ, जुन हाम्रो घरेलु मैदान हो । आज हामीले जसरी खेल्यौं र जस्तो नतिजा निकाल्यौं, यसले हामीलाई आगामी खेलका लागि निकै ठूलो आत्मविश्वास थपिदिएको छ,’ डेम्बेलेले भने, ‘जब सेभिल्ला दोस्रो लेग खेल्न क्याम्प नोउ आइपुग्छ, हामी त्यहाँ बार्सिलोनाको असली रूप देखाउनेछौं । हामी त्यहाँ अर्को उत्कृष्ट खेल र पुनरागमन नतिजाका लागि तयार छौं । यदि हामी अझै पनि कुनै उपाधि जित्न सक्षम छौं भने हामीले सेभिल्लालाई हराएर फाइनल पुग्नुपर्छ । अहिलेको हाम्रो लक्ष्य कपको उपाधिभन्दा सेभिल्लामाथिको पुनरागमन हो ।’

कोपाको दोस्रो लेग बार्सिलोनाको घरमा खेल्दा सेभिल्ला निकै सहज अवस्थामा हुनेछ । पहिलो लेग २–० ले एकपक्षीय जितकाले क्याम्प नोउमा ऊ बार्सिलोनासँग ०–१ ले हारे पनि फाइनल जान काफी हुनेछ । यदि अवे गोल गर्न सके त्यो उसका लागि झनै सजिलो हुनेछ । तर, बार्सिलोना भने यस खेलमा ठूलै दबाबमा हुनेछ । उसलाई पाहुना टोलीसँग २–० को नतिजा उल्टाउन कम्तीमा पनि ३–० को स्पष्ट जित आवश्यक पर्नेछ । यदि सेभिल्लाले आफ्नो घरमा मात्रै १ गोल गरे बार्सिलोनालाई भने खेल जितेर फाइनल जान ४ गोल आवश्यक पर्नेछ । तर, विगतका तथ्यांक हेर्दा बार्सिलोनाले सेभिल्लाविरुद्ध पटक–पटक फराकिला नतिजाहरू पनि निकाल्दै आएकाले घरेलु मैदानमा २–० को नतिजा उल्टाउन उसका लागि असम्भव नै भने हुनेछैन । तर, सेभिल्लाले अवे गोल गरेको खण्डमा पनि बार्सिलोना कठिनाइमा पर्नेछ ।

प्रकाशित मिति १६ फाल्गुन २०७७, आईतवार १३:४८
Loading...