ठूला टोलीहरूलाई सानाको चोट : नापोली र लेस्टर सिटी दुवै युरोपा लिगबाट आउट

काठमाडौं, फागुन १४

इटालियन सिरी ए लिगको एक बलियो टोली नापोली युरोपा लिग फुटबलबाट आउट भएको छ । गत राति अन्तिम ३२ को दोस्रो लेगको खेल सकिँदा स्पेनिस टिम ग्रानाडाले एग्रीगेटमा नापोलीलाई २–३ ले हराउँदै युरोपा लिगबाट आउट गराएको हो । आफ्नो घरमा भएको पहिलो लेगको खेल नापोलीले २–१ ले जिते पनि पहिलो लेग ग्रानाडाको घरमा २–० ले हारेकाले समग्रमा खेल ग्रानाडाले जितेको हो । अवे मैदानमा भएको पहिलो लेग २–० ले हार्दाको मूल्य नापोलीलाई दोस्रो लेगमा महँगो पर्न गयो । यता, स्पेनिस ला लिगा टोली ग्रानाडाले इटालीको एक मजबुत टोलीमाथि अप्रत्यासित नतिजाका साथ समग्रमा ३–२ को जित निकाल्दै युरोपाको अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो । गत राति नापोलीले आफ्नो घरमा पाहुना टोली ग्रानाडालाई २–१ ले हरायो ।

आफ्नो घरमा नापोलीका लागि खेलको तेस्रो मिनेटमै पिओट्र जिलिन्स्कीले गोल गरेका थिए । तर, खेलको २५औं मिनेटमा ग्रानाडाका एन्जल मोन्टोरोले गोल गरेर खेल १–१ बनाए । त्यसपछि ५९औं नापोलीका फाबिएन रुइज पेनाले गोल गरेपछि खेलमा नापोलीले २–१ को अग्रता बनायो । तर, त्यसपछि खेलमा थप गोल गर्न नसक्दा नापोलीले पहिलो लेग जिते पनि पहिलो लेग हार्दा खेल समग्रमा २–३ ले गुमायो । यता, इंग्लिस प्रिमियर लिगको बलियो टोली लेस्टर सिटी पनि अप्रत्यासित रूपमा युरोपा लिगबाट बाहिर भएको छ । गत राति भएको दोस्रो लेगमा लेस्टरलाई चेक रिपब्लिकको क्लब स्लाभिया प्रहाले लेस्टरलाई उसकै घरमा ०–२ ले स्तब्ध बनाउँदै उपाधि होडबाट आउट गराएको हो ।

यसअघि भएको पहिलो लेग ०–० मा सकिएको थियो । तर, आफ्नो घरमा भएको दोस्रो लेगमा लेस्टर अप्रत्यासित हारको सिकार हुँदा उसले प्रतियोगिताबाट हात धुनुपरेको हो । कमजोर टिमसँग हारेर युरोपाबाट आउट हुँदा लेस्टरको ठूलो आलोचना भइरहेको छ ।

प्रकाशित मिति १४ फाल्गुन २०७७, शुक्रबार ०७:०३
Loading...