मेस्सी पनि युरोपियन गोल्डेन बुट दौडमा उत्रिए : यस्तो छ ताजा स्थिति

काठमाडौं, फागुन १४

स्पेनिस फुटबल क्लब बार्सिलोनाका फरवार्ड लिओनल मेस्सी पनि जारी सिजनको युरोपियन गोल्डेन बुटको दौडमा मिसिएका छन् । ताजा अवस्थामा अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सी यस दौडमा चौथो स्थानमा रहेका छन् । दुई दिनअघि ला लिगामा इल्चेविरुद्ध २ गोल गरेपछि मेस्सीको कूल लिग गोल संख्या १८ पुगेको छ ।

अहिलेको अवस्थामा मेस्सी ला लिगाका एकल सर्वाधिक गोलकर्ता खेलाडी हुन् भने टप–५ लिगमा भने समग्रमा चौथो स्थानमा रहेका छन् । मेस्सीले ला लिगामा हालसम्म कूल १८ गोल गरेका छन् । उनले पछिल्ला ७ खेलबाट ११ गोल गरेका छन् । त्यसैगरी, मेस्सीले पछिल्ला ७ खेलमा लगातार गोल गरेका छन् भने ४ खेलमा ब्रेस गोल गरेका छन् ।

ताजा अवस्थामा मेस्सी जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्कीभन्दा गोल्डेन बुट दौडमा ८ गोलले पछि छन् । मेस्सीले यसअघि ६ पटक गोल्डेन बुट जितिसकेका छन् । तर, लेवान्डोस्कीले भने हालसम्म पनि योअवार्ड जित्न सकेका छैनन् । गत वर्ष उनलाई अन्तिम समयमा इटालियन लाजियोका सिरो इम्मोबिलेले पछि पारेका थिए ।

अहिलेको अवस्थामा गोल्डेन बुट दौडमा लेवान्डोस्की २६ गोलसहित सबैभन्दा अगाडि छन् । उनी दोस्रो स्थानका ३ जना खेलाडीभन्दा स्पष्ट रूपमा ६ गोलले अघि रहेका छन् । ताजा अवस्थामा युभेन्टसका रोनाल्डो र मेस्सीका नाममा समान १८–१८ गोल छ । र, दुवै जना आ–आफ्नो लिगका एकल सर्वाधिक गोलकर्ता खेलाडी पनि हुन् । बुन्डेसलिगाकै आन्ड्रे सिल्भा (फ्रान्कफुर्ट) का नाममा पनि समान १८ गोल नै छ ।

टप–५ लिगमा सर्वाधिक गोलकर्ताको ताजा अवस्था यस्तो छ

रोवर्ट लेवान्डोन्सकी (बुन्डेसलिगा) – २६ गोल
आन्ड्रे सिल्भा (बुन्डेसलिगा) – १८
क्रिस्टियानो रोनाल्डो (सिरी ए) – १८ गोल
लिओनल मेस्सी (ला लिगा) – १८ गोल
अर्लिङ हल्यान्ड (बुन्डेसलिगा) – १७

लिगका आधारमा

बुन्डेसलिगा – रोवर्ट लेवान्डोन्सकी – २६ गोल
सिरी ए – क्रिस्टियानो रोनाल्डो – १८ गोल
ला लिगा – लिओनल मेस्सी – १८ गोल
प्रिमियर लिग – मोहमद सालाह – १७ गोल
लिग वान – केलियन एमबाप्पे – १६ गोल

प्रकाशित मिति १३ फाल्गुन २०७७, बिहीबार २१:५५
Loading...