मेस्सी चम्किँदा १८औं स्थानको इल्चेमाथि बार्सिलोनाको शानदार जित

काठमाडौं, फागुन १३
कप्तान लिओनल मेस्सीले उत्कृष्ट प्रदर्शनका साथ २ गोल गरेको खेलमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रेलिगेसन टिममाथि प्रभावशाली जित निकालेको छ । नेपाली समयअनुसार बिहीबार बिहान भएको खेलमा बार्सिलोनाले आफ्नो घरेलु मैदानमा लिगको १८औं स्थान टिम इल्चेमाथि ३–० को जित निकाल्यो ।

क्याम्प नोउ रंगशालामा बार्सिलोनाले पहिलो हाफमा निकै फितलो प्रदर्शन गर्दा पहिलो हाफ ०–० मा सकिएको थियो । तर, दोस्रो हाफमा उसले आक्रामक खेल खेल्दै ३ गोल गर्न सफल भयो, जसमा २ गोल कप्तान मेस्सीले गरे । खेलको ४८औं मिनेटमा मेस्सीले पहिलो गोल मार्टिन ब्रेथवेटको पासमा बक्सभित्रबाट गरेका थिए ।

त्यसपछि दोस्रो गोल खेलको ६८औं मिनेटमा मेस्सीले नै गरे । यसपटक उनको गोलमा फ्रेन्की डे जोङले सुन्दर क्रस पास दिलाएका थिए । तेस्रो गोल खेलको ७३औं मिनेटमा डिफेन्डर जोर्डी अल्बाले गरे । उनको सुन्दर गोलमा ब्रेथवेटले नै असिस्ट दिएका थिए । उनको गोलपछि खेलमा थप गोल भएन । र, खेल बार्सिलोनाले ३–० ले जित्यो ।

अब यो जितपछि बार्सिलोनाले २४ खेलबाट ५० अंक बनाएको छ । ऊ सेभिल्लालाई पछि पार्दै तेस्रो स्थानमा पनि चढेको छ । बार्सिलोना अझै एक खेल कम खेलेको लिग लिडर एथ्लेटिको मड्रिडभन्दा ५ अंकले पछि नै छ ।

प्रकाशित मिति १३ फाल्गुन २०७७, बिहीबार ०१:२२
Loading...