अन्सु फाती प्रतिष्ठित ‘लाउरेअस वर्ल्ड स्पोर्ट्स अवार्ड’का लागि मनोनित

एजेन्सी, फागुन १२
स्पेनिस फुटबल क्लब बार्सिलोनाका युवा स्टार अन्सु फाती प्रतिष्ठित ‘लाउरेअस वर्ल्ड स्पोर्ट्स अवार्ड’का लागि मनोनियत भएका छन् । ‘द वर्ल्ड स्पोर्ट्स मिडिया’ले १८ वर्षका फातीलाई ‘२०२१ लाउरेअस वर्ल्ड ब्रेकथ्रो अफ् द अयर अवार्ड’ का लागि अन्तिम मनोनयनमा समावेश गरेको छ ।

समग्र खेलकुद क्षेत्रबाट वर्षका विशेष प्रतिभाशाली खेलाडीलाई दिइने यो अवार्डमा विभिन्न विधाबाट कूल ६ जना खेलाडी मनोनयनमा परेका छन् । जसमा पाँच फरक–फरक विधाका युवा खेलाडीलाई राखिएको छ । आज आयोजकले अफिसियल रूपमा सो अवार्डका लागि मनोनयन सूची घोषणा गरेको हो । मनोनयनको सूचीमा फुटबल विधाबाट फाती मात्रै परेका छन् ।

फाती गत नोभेम्बर महिनादेखि चोटका कारण मैदानबाहिर छन् । तर, त्यसअघि उनी उत्कृष्ट लयमा थिए । बार्सिलोनामा उनले सिनियर टोलीमा प्रमुखतासाथ स्थान बनाएर लगातार खेल्दै र गोल र असिस्ट पनि गर्दै आएका थिए । फातीले मात्रै १६ वर्षको उमेरमा बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गरेका थिए । उनले ला लिगा, क्लब बार्सिलोना र च्याम्पियन्स लिगको इतिहासमै गोल गर्ने सबैभन्दा कान्छा कीर्तिमानी खेलाडी पनि बनेका थिए ।

प्रकाशित मिति १२ फाल्गुन २०७७, बुधबार १८:४७
Loading...