च्याम्पियन्स लिग अन्तिम १६ : ‘तुफानी एटलान्टा’लाई ‘घाइते’ रियल मड्रिडले रोक्न सक्ला ?

काठमाडौं, फागुन १२
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज राति दुई खेल हुँदैछन् । अन्तिम १६ को पहिलो लेगअन्तर्गत आज दुई खेल हुन लागेका हुन् । आज हुने एक खेलमा इटालियन क्लब एटलान्टा र स्पेनिस क्लब रियल मड्रिडको रोमाञ्चक खेल हुँदैछ । यो खेल एटलान्टाको घरेलु मैदानमा हुनेछ ।

आज १३औं पटकको च्याम्पियन रियल इटालियन एटलान्टाको घरमा उत्रिँदा ठूलो दबाबमा हुनेछ । किनभने, रियलको सिनियर टोलीमा ९ जना प्रमुख खेलाडी आज हुनेछैनन् । कप्तान तथा डिफेन्डर सर्जियो रामोस, इडर मिलिटाओ, मिडफिल्डर फेडे भाल्भर्डेदेखि फ्रन्ट लाइनका करिम बेन्जेमा, इडेन हाजार्डसहितका प्रमुख खेलाडी घाइते छन् ।

एटलान्टा अहिले युरोपमै एक खतरनाक अट्याकिङ टिममा रूपमा उदाएकोछ । सिरी ए लिगमा यो सिजन युभेन्टससहित ठूला टिमलाई हराइसकेको एटलान्टाले च्याम्पियन्स लिगको समूह चरणमा पनि अप्रत्यासित र फराकिला नतिजा निकालिसकेको छ । आज आफ्नो घरमा स्पेनिस महारथिलाई स्वागत गर्दा ऊ रियलमाथि सनसनीपूर्ण जित निकाल्ने दाउमा छ ।

यता, आजै हुने अर्को खेलमा जर्मन क्लब मोन्चेङ्लाडवाच र इंग्लिस क्लब म्यानचेस्टर सिटीको खेल पनि हुँदैछ । यो खेल मोन्चेङ्लाडवाचको घरेलु मैदानमा हुनेछ । पछिल्लो समय प्रिमियर लिगमा लगातार ११ खेल जितेर उत्कृष्ट लयमा रहेको सिटी आज जर्मन टिमविरुद्ध पहिलो लेगमै फराकिलो जित निकालेर अर्को चरणको यात्रा सहज बनाउने दाउमा छ ।

आजका खेल नेपाली समयमा

एटलान्टा भर्सेस रियल मड्रिड – राति १ः४५ बजे
मोन्चेङ्लाडवाच भर्सेस म्यानचेस्टर सिटी – राति १ः४५ बजे

प्रकाशित मिति १२ फाल्गुन २०७७, बुधबार १२:०६
Loading...