च्याम्पियन्स लिग अन्तिम १६ : बार्यनद्वारा लाजियोको उसकै घरमा नमिठो धुलाइ !

काठमाडौं, फागुन १२
इटालियन क्लब लाजियोले युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा लज्जास्पद हार व्यहोरेको छ । गत राति भएको अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा गत सिजनको च्याम्पियन जर्मन क्लब बार्यन म्युनिखले लाजियोलाई उसकै घरेलु मैदानमा १–४ गोलअन्तरले धुलाइ गरेको हो ।

पाहुना टोली बार्यनले घरेलु टोली लाजियोविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै सुविधाजनक जित निकाल्दा ३ जना खेलाडीले १–१ गोल गरे भने १ गोल उपहारमा पायो । यो फराकिलो जितसँगै अब बार्यनको अन्तिम आठको प्रवेश करिब–करिब पक्का भएको छ ।

स्टाडियो ओलम्पिको रंगशालामा बार्यनका लागि पहिलो गोल खेलको नवौं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गरेका थिए । त्यसपछि २४औं मिनेटमा जमल मुसिआलाले गोल गरे भने ४२औं मिनेटमा लिरोए सानेले गोल गरेर पहिलो हाफमा बार्यनलाई ०–३ को सहज अग्रता दिाए ।

त्यसपछि दोस्रो हाफ सुरु हुनासाथ बार्यनले उपहार गोल पायो । लाजियोका फ्रान्सेस्को एसर्बीले आफ्नै पोस्टमा गोल गरेपछि बार्यन खेलमा ०–४ अले अघि भयो । त्यसको २ मिनेटमै लाजियोका लागि जोआक्विन कोरेराले गोल गरेर खेल १–४ मा छोट्याएका थिए । तर, त्यसपछि दुवै तर्फबाट थप गोल नभएपछि खेल बार्यनले १–४ कै अग्रता बचाएर जित्यो ।

अब दोस्रो लेग बार्यनको घरेलु मैदानमा हुनेछ । सो खेलमा बार्यन ०–३ गोलले पराजित भए पनि अर्को चरण जान काफी हुन्छ । तर, लाजियोका लागि भने बार्यनको घरमा ०–४ को फराकिलो र एकपक्षीय जित आवश्यक पर्नेछ, जुन धेरै नै कठिन पर्नेछ ।

प्रकाशित मिति १२ फाल्गुन २०७७, बुधबार ०८:०८
Loading...