च्याम्पियन्स लिग अन्तिम १६ : चेल्सीले एथ्लेटिको मड्रिडलाई उसकै घरमा हरायो

काठमाडौं, फागुन १२
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा स्पेनिस क्लब एथ्लेटिको मड्रिड अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा पराजित भएको छ । गत राति इंग्लिस क्लब चेल्सीले एथ्लेटिकोलाई उसकै घरेलु मैदानमा ०–१ ले स्तब्ध बनायो । अवे गोलका साथ बलियो टोली एथ्लेटिकोलाई हराएपछि चेल्सीले अन्तिम आठमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ ।

एथ्लेटिकोले आफ्नो मुख्य घरेलु मैदान वान्डा मेट्रोपोलिटानो रंगशालामा फितलो प्रदर्शन गरेको थियो । लुइस स्वारेज, जुआओ फेलिक्ससहितका प्रमुख खेलाडी लिएर मैदान उत्रिए पनि एथ्लेटिकोले पाहुना टोली चेल्सीको पोस्टमा एकपटक पनि अन टार्गेट प्रहार गर्न सकेन ।

चेल्सीका लागि खेलको ६८औं मिनेटमा फ्रेन्च फरवार्ड ओलिभर जिरुउडले गरेको १ मात्रै गाल चेल्सीको महत्त्वपूर्ण जितका लागि निर्णायक बन्यो । जिरुउडले बक्सभित्रबाट एक्रोब्याटिक सटमा हानेको सुन्दर प्रहारले बुलेट शैलीमा जाली चुमेको थियो । सो गोललाई भिएआरले अन साइड रहेको भन्दै मान्यता दिएपछि मात्रै चेल्सीले गोलको खुसीयाली मनाएको थियो ।

त्यसपछि खेलभरि नै घरेलु टोली एथ्लेटिको खेलमा फर्किन सकेन । र, खेल चेल्सीले ०–१ ले जित्यो । आफ्नो घरमा एथ्लेटिकोले खेलभरि चेल्सीको बक्समा जम्मा ६ पटक आक्रमणको मुभ बनाउँदा एकपटक पनि सही दिशामा प्रहार गर्न सकेन । र, यो सिजन एथ्लेटिकोले ९० मिनेटमा विपक्षीको पोस्टमा एकपटक पनि अन टार्गेट हान्न नसकेको खेल यही नै हो ।

यो जितसँगै चेल्सीको अर्को चरण जाने ढोका खुलेको छ । अब चेल्सीको घरमा हुने दोस्रो लेगमा एथ्लेटिकोलाई कम्तीमा ०–२ को कमब्याक जित चाहिन्छ । तर, चेल्सीले आफ्नो घरमा एथ्लेटिकोलाई ०–० मा रोके पनि काफी हुनेछ ।

प्रकाशित मिति १२ फाल्गुन २०७७, बुधबार ०७:३२
Loading...