डे जोङको बोली– ‘हामीलाई यतिमै थाक्न वा हरेश खान कदापि छुट छैन’

एजेन्सी, फागुन १४

स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्टार मिडफिल्डर फ्रेन्की डे जोङले खराब अवस्थाका बीच पनि आफूहरू नथाकेको बताएका छन् । २ दिनअघि ला लिगामा इल्चेमाथि ३–० को जितपछि उनले ‘स्पोर्ट’सँग कुरा गर्दै टिम कठिन अवस्थामा रहेको भए पनि टिमले हरेश खाइनसकेको बताएका हुन् । हालको अवस्थामा बार्सिलोना च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रे कप गरी तीनवटै प्रतियोगितामा कठिन अवस्थामा छ । यसअघि उसले स्पेनिस सुपर कप त हारिसकेको छ । बाँकी तीनवटै प्रतियोगितामा बार्सिलोना कठिन मात्रै नभएर निकै कठिन अवस्थामा रहँदा कुनै पनि उपाधि जित्न उसले ठूलै संघर्ष गर्नुपर्ने अवस्था छ ।  व्यवहारिक हिसाबले हेर्ने हो भने त बार्सिलोनाका लागि यो सिजनका बाँकी सबै प्रतियोगिता जित्न र प्रतिस्पर्धामा उत्रिनका लागि पनि धेरैनै मुस्किल हुने अवस्था देखिन्छ । जसका कारण अहिले बार्सिलोनाका खेलाडी र प्रशिक्षक रोनाल्ड कोम्यानको समेत चर्को आलोचना भइरहेको छ । त्यसो त उनी बार्सिलोना पुगेदेखि नै कुनै न कुनै रूपमा सुरुआतबाटै आलोचित बन्दै आएका छन् ।

बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च क्लब पिएसजीसँग घरमै १–४ ले पराजित भएको छ भने कोपा डेल रे कपको सेमिmपाइनलमा अवे मैदानमा सेभिल्लासँग २–० ले हारेको छ । यता, ला लिगामा पनि बार्सिलोना ताजा अवस्थामा लिग लिडर एथ्लेटिको मड्रिडभन्दा ५ अंकले पछि नै छ । यो स्थितिमा बार्सिलोनाका लागि उपाधि जित्न सबै प्रतियोगितामा शानदार कमब्याक गर्नुपर्ने दबाब छ । र, बार्सिलोना अघिले जसरी अघि बढिरहेको छ, त्यो स्तरको प्रदर्शनबाट उसलाई सिजनको बाँकी अवधि पूरा गर्न विल्कुलै सहज छैन । गत सिजनजस्तै यस सिजन पनि बार्सिलोना जिरो उपाधि हुने खराब समय नजिक उभिएको छ । तर, डच मिडफिल्डर डे जोङ भने आफूहरू कमजोर भइनसकेको र उपाधि माया नमारेको बताउँछन् । गएको सिजन पनि बार्सिलोनाले कुनै पनि उपाधि जितेको थिएन । बार्सिलोना दशकौंपछि सिंगै सिजनमा उपाधिमा निल भएको थियो ।

‘हामी अहिले कठिन अवस्थामा छौं, यो साँचो हो । तर, हामी थाकिसकेका छैनौं । र, हिम्मत हारेका छैनौं,’ डे जोङले भनेका छन्, ‘हामी एकताबद्ध हुँदै सबै प्रतियोगितामा फर्किन प्रयासरत छौं । हामी बार्सिलोना हौं । र, हामीलाई यतिमै थाक्न वा हरेश खान छुट छैन,’ डे जोङले भनेका छन्, ‘हामीले यति कठिन दिन आउन सक्छन् भनेर सिजनको सुरुआतमा सोचेका थिएनौं । हामीले अपेक्षाअनुसार सिजनको सुरुआत गर्न नसक्दा निर्णायक मोडमा पुग्दै गर्दा कठिनाइ बढेको हो । यसप्रति हामी खेलाडी र प्रशिक्षक पनि गम्भीर हुनुहुन्छ । तर, अझै पनि हामीसँग सम्हालिएर अघि बढ्न सक्ने सम्भावना जीवितै छ । तर, त्यसका लागि धेरै समय छैन । हामीले तत्कालै सबै प्रतियोगितामा प्रष्टै देखिने गरी सुधार गर्नुपर्छ । यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सम्पूर्ण योगदान दिनुपर्छ ।’

डे जोङले बार्सिलोनाका लागि ला लिगा अन्तिम खेलसम्म नै खुला हुने तर च्याम्पियन्स लिग र कोपामा चुनौती रहेको बताए । ‘मेरो विचारमा ला लिगा बार्सिलोनाका खुला छ । र, अन्तिम खेलसम्म नै खुला हुनेछ । अहिलेको चुनौती भनेको च्याम्पियन्स लिग र कोपामा हो । यी दुई प्रतियोगितामा नतिजा उल्ट्याउनु हाम्रो अहिलेको एक मात्रै लक्ष्य हो । हामी यसका लागि कुनै कसर बाँकी नराखी संघर्ष गर्नेछौं,’ उनले थपे, ‘मेरो विचारमा हामी अहिले पनि तीन वटै प्रतियोगिताको उपाधिमा खुला छौं । च्याम्पियन्स लिग र कोपामा कठिनाइ छ । तर, असम्भव त छैन नि ! त्यसका लागि हामीले आत्मबल उचो बनाएर एकताबद्ध हुनुपर्छ । र, दुई प्रतियोगितामा चमत्कारिक प्रदर्शन र नतिजाका लागि सबैले मेहनत गर्नुपर्छ । यो बेला हामीलाई चाहिने भनेकै एकता, कडा मेहनत र आत्मविश्वास हो । यसमा हामी सबै खेलाडी र सिंगो टिम स्पष्ट छौं ।’

प्रकाशित मिति ११ फाल्गुन २०७७, मंगलवार ११:४५
Loading...