ला लिगामा सेभिल्लाले निकाल्यो लगातार सातौं जित : बार्सिलोना चौथोमा चिप्लियो

काठमाडौं, फागुन ११
स्पेनिस ला लिगा फुटबलमा यो सिजन उत्कृष्ट लयमा रहेको सेभिल्लाले लगातार सातौं जित हात पारेको छ । गत राति भएको लिगको २३औं खेलमा सेभिल्लाले ओसासुनालाई उसकै घरेलु मैदानमा ०–२ ले स्तब्ध बनायो । यो जितसँगै सेभिल्लाले पछिल्ला ७ लिग खेलमा १०० प्रतिशत जित निकालेको छ, जुन सबैभन्दा राम्रो अवस्था हो । यो सिजन सेभिल्ला र बार्सिलोनाले मात्रै लगातार ७ खेल जितेका छन् ।

त्यत्ति मात्रै हैन, यो जितसँगै सेभिल्ला पुनः टेबलको तेस्रो स्थानमा फर्किएको छ । उसले बार्सिलोनालाई उछिनेर तेस्रो स्थानमा चढेको छ । अघिल्लो दिन बार्सिलोना आफ्नै घरमा क्याडिजसँग १–१ मा रोकिँदा सेभिल्लाले त्यसको फाइदा उठायो । हालको अवस्थामा बार्सिलोनासँग समान खेलपछि सेभिल्ला १ अंकले अघि छ ।

अवे मैदानमा सेभिल्लालाई जिताउन २ जना खेलाडीले गोल गरे । पहिलो गोल १९औं मिनेटमा डिएगो कार्लोसले गरेर टिमलाई अग्रता दिलाए भने दोस्रो गोल ४९औं मिनेटमा लुका डे जोङले गरे । उनी चोटका कारण लामो समयपछि मैदान फर्किएका हुन् ।

अब यो जितपछि सेभिल्लाको खातामा २३ खेलपछि कूल ४८ अंक भएको छ । ऊ अझै समान खेल खेलेको लिग लिडर एथ्लेटिको मड्रिडभन्दा ७ अंक र एक खेल बढी खेलेको दोस्रो स्थानको रियल मड्रिडभन्दा ४ अंकले पछि छ । सेभिल्लाले यो खेल जित्दा बार्सिलोना भने तेस्रोबाट चौथो स्थानमा चिप्लिएको छ । अब सेभिल्लाले आगामी खेल ला लिगामै बार्सिलोनाविरुद्ध नै खेल्नेछ ।

प्रकाशित मिति ११ फाल्गुन २०७७, मंगलवार ०८:५७
Loading...