सिरी ए लिग : रोनाल्डो चम्किँदा युभेन्टसको शानदार जित

काठमाडौं, फागुन ११
सुपरस्टार क्रिस्टियानो रोनाल्डोको प्रेरणामा इटालियन सिरी ए लिगमा युभेन्टसले शानदार जित निकालेको छ । गत राति भएको लिगको २२औं साताको खेलमा युभेन्टसले क्रोटोनेलाई ३–० ले हराउँदा रोनाल्डो नायक बने । उनले युभेन्टसको घरेलु मैदानमा २ उत्कृष्ट हेडिङ गोल गरेर टिमलाई महत्त्वपूर्ण ३ अंक जिताउन योगदान दिए ।

लिगको २०औं स्थानको क्रोटोनेलाई घरेलु मैदानमा स्वागत गर्दा रोनाल्डोले २ वटै गोल हेडिङमार्फत् गर्दा १ गोल युवा खेलाडी वेस्टन म्याकेनीले गरे । रोनाल्डोले २ वटै गोल निकै सुन्दर ढंगले हेडिङमार्फत् गरे । रोनाल्डो यस खेलमा पटक–पटक ह्याट्रिक गोल गर्ने अवसर पाए पनि तेस्रो गोलको अवसर भने सदुपयोग गर्न सकेनन् । रोनाल्डोले गरेका २ गोलबाहेक उनले थप २ गोल गर्ने धेरै नै सजिला मौका खेर फालेका थिए ।

युभेन्टसका लागि खेलको ३८औं मिनेटमा रोनाल्डोले पहिलो गोल गरेका थिए । त्यसपछि उनैले दोस्रो गोल ४५औं मिनेटमा गरेपछि युभेन्टस २–० ले अघि भयो । त्यसपछि ६६औं मिनेटमा म्याकेनीले गोल गरेर खेल ३–० बनाए । म्याकेनीको गोलमा पनि रोनाल्डोले नै अवसर सिर्जना गर्न भूमिका खेलेका थिए । त्यसपछि खेलमा थप गोल भएन । र, खेल युभेन्टसले ३–० ले जित्यो ।

अब यो जितपछि युभेन्टसले २२ खेलबाट कूल ४५ अंक बनाएको छ । र, ऊ तेस्रो स्थानमा पनि चढेको छ । यद्यपि, युभेन्टस अझै पनि लिग लिडर इन्टर मिलानभन्दा ८ अंकले पछि नै । तर, युभेन्टसले एक खेल कम खेलेको छ । यदि युभेन्टसले नापोलीसँग हुने बाँकी एक खेल पनि जित मिलानसँगको दूरी ५ मा झार्नेछ । यता, युभेन्टस अहिले एक खेल बढी खेलेको दोस्रो स्थानको एसी मिलानभन्दा ४ अंकले पछि छ ।

प्रकाशित मिति १० फाल्गुन २०७७, सोमबार १३:५६
Loading...