लेवान्डोस्की र हल्यान्डलाई पछि पार्दै मेस्सी सर्वाधिक गोलकर्ता : यस्तो छ ताजा स्थिति

काठमाडौं, फागुन १०
स्पेनिस फुटबल क्लब बार्सिलोनाका फरवार्ड लिओनल मेस्सी यस वर्षको सर्वाधिक गोलकर्ताको दौडमा शीर्ष स्थानमा चढेका छन् । उनले वर्ष २०२१ सुरु भइकन हालसम्म आइपुग्दा जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्की र बोरुसिया डर्टमुन्डका अर्लिङ हल्यान्डलाई समेत पछि पारेका हुन् ।

ला लिगामा गत राति २३औं साताको खेलमा मेस्सीले क्याडिजविरुद्ध पेनाल्टीमार्फत् १ गोल गरेका थिए, जुन उनका लागि वर्ष २०२१ को ११औं गोल थियो । जारी सिजन युरोपियन टप–५ लिगमा वर्ष २०२१ सुरु भइकन मेस्सी सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् ।

यस वर्षको मात्रै तथ्यांकअनुसार मेस्सीले बार्यनका लेवान्डोस्की र डर्टमुन्डका हल्यान्डलाई पनि पछि पारेका हुन् । जसमा मेस्सीपछि दोस्रो स्थानमा डर्टमुन्डका हल्यान्ड छन्, उनले यस वर्ष हालसम्म १० गोल गरेका छन् । त्यसपछि तेस्रो स्थानमा बार्यनका लेवान्डोस्की छन् । उनले हालसम्म कूल ९ गोल गरेका छन् ।

तर, यो सिजनकै हालम्मको कुरा गर्दा भने लेवान्डोस्की शीर्ष स्थानमा छन् । उनले २१ खेलबाट २६ गोल गरेका छन् । हल्यान्डले १७ खेलबाट १७ नै गोल गरेका छन् । मेस्सीले भने २१ खेलबाट १६ गोल गरेका छन् ।

प्रकाशित मिति १० फाल्गुन २०७७, सोमबार १३:३२
Loading...