एसी मिलानको घरमा मार्टिनेजको ‘दादागिरी’ : इन्टर मिलानको शानदार जित

काठमाडौं, फागुन ९
अर्जेन्टिनी युवा स्टार फरवार्ड लौटारो मार्टिनेज चम्किँदा इटालियन सिरी ए लिगको मिलान डर्बी भिडन्तमा इन्टर मिलानले एसी मिलानलाई उसकै घरेलु मैदानमा रवाफपूर्ण जित निकालेको छ । आज आइतबार राति भएको सिजनको दोस्रो मिलान डर्बी भिडन्तमा इन्टर मिलानले एसी मिलानलाई उसकै मैदानमा ०–३ को लज्जास्पद हारको सिकार बनायो ।

एसी मिलानलाई घरमै सिकार बनाउनेक्रममा युवा फरवार्ड मार्टिनेज नायक बने । उनले उत्कृष्ट प्रदर्शनका साथ २ शानदार गोल गरे भने बाँकी १ गोल रोमेलु लुकाकुले गरे । लुकाकुले पनि आज उत्कृष्ट प्रदर्शनका साथ १ गोल गर्दै १ गोलमा असिस्ट गरे । बाँकी २ गोलमा इभान पेरिसिचले असिस्ट गरेका थिए ।

इन्टरका लागि खेलको पाँचौं मिनेटमै मार्टिनेजले हेडिङमार्फत् उत्कृष्ट गोल गरेका थिए । बेल्जियन स्टार लुकाकुले क्रसमा दिएको उत्कृष्ट हवाई पासमा बक्समा तैनाथ रहेका मार्टिनेजले हेडिङमार्फत् बुलेट गोल गरेर टिमलाई ०–१ को अग्रता दिलाएका थिए ।

त्यपछि खेलको ५७औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गरेर एसी मिलानलाई दोस्रो झट्का दिएका थिए । यसपटक पेरिसिचले असिस्ट गरेका थिए । त्यसपछि ६६औं मिनेटमा लुकाकुले पेरिसिचकै असिस्टमा लो सटमा सुन्दर गोल गरेपछि इन्टरले ०–३ ले बनायो । त्यसपछि बाँकी समयमा थप गोल नभएपछि इन्टर मिलानले एसी मिलानलाई उसकै घरमा ०–३ को शानदार जित निकाल्यो ।

अब यो जितपछि इन्टर मिलान स्पष्ट रूपमा उपाधि होडमा अघि बढेको छ । उसले २३ खेलबाट कूल ५३ अंक बनाएको छ । आज इन्टरसँग पराजित एसी मिलान समान २३ खेलपछि ४९ अंकका साथ दोस्रो स्थानमा छ । ऊ हालको अवस्थामा ४ अंकले पछि परेको छ ।

प्रकाशित मिति ९ फाल्गुन २०७७, आईतवार १८:३२
Loading...