‘विश्वकै उत्कृष्ट’ मेस्सीलाई ‘एक मिडफिल्डर’को टक्कर : हेरौं तथ्यांक

एजेन्सी, फागुन ११
स्पेनिस फुटबल क्लब बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सी पछिल्लो समय उत्कृष्ट लयमा छैनन् । र, उनी यतिविघ्न खराब अवस्थामा पनि छैनन् । उनी मध्यमस्तरको लयमा रहेर अघि बढिरहेका छन् । विगत वर्षहरूजस्तो उनले प्रश्स्तै गोल र असिस्ट यतिबेला गर्न सकिरहेका छैनन् । तैपनि, मेस्सी अझै पनि एक उत्कृष्ट फरवार्ड, एक उत्कृष्ट प्ले मेकर र उत्कृष्ट ड्रिब्लर हुँदै हुन्, यसमा दुईमत नै छैन ।

तर, फुटबलका दाजुगर मेस्सीलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका युवा मिडफिल्डर ब्रुनो फर्नान्डेजले गोल प्लस असिस्ट संख्यामा कडा टक्कर दिएका छन् । अघिल्लो सिजन युनाइटेडमा अनुबन्ध भएका पोर्चुगलका अट्याकिङ मिडफिल्डर फर्नान्डेज अहिले मेस्सीको व्यक्तिगत तथ्यांकसँग टक्करमा देखिएका छन् ।

फुटबलको तथ्यांक संकलन तथा विश्लेषण गर्ने चर्चित संस्था ‘ओप्टा’ले हालौ सार्वजनिक गरेको एक तथ्यांकले गत वर्ष पोर्चुगिज क्लब स्पोर्टिङबाट ४७ मिलियन पाउन्डमा युनाइटेडमा अनुबन्ध भएपछि उनले हालसम्म गरेको गोल प्लस असिस्ट संख्या र सोही अवधिमा बार्सिलोनामा मेस्सीले गरेको गोल प्लस असिस्ट संख्यालाई तुलना गरेको छ ।

यसरी हेर्दा फर्नान्डेजले युनाइटेडमा अनुबन्ध भएपछि हालसम्म जति गोल प्लस असिस्ट गरेका छन्, मेस्सीले बार्सिलोनामा उनको भन्दा मात्रै १ बढी गोल प्लस असिस्ट मात्रै गरेका छन् । ‘ओप्टा’ले यसलाई ‘रोचक तथ्यांक’को संज्ञा दिँदै विश्वकै उत्कृष्ट खेलाडी मेस्सीसँग फर्नान्डेजको व्यक्तिगत संख्यालाई तुलना गरेको छ ।

जसअनुसार फर्नान्डेजले युनाइटेडमा अनुबन्ध भइकन हालसम्म गोल प्लस असिस्ट गरेर कूल ५२ गोलमा सोझै योगदान दिइसकेका छन् । उनले त्यसका लागि कूल ५८ खेल खेलेका छन् । सोही अवधिमा बार्सिलोनाका मेस्सीले १ मात्रै बढी अर्थात् गोल प्लस असिस्ट गरेर कूल ५३ गोलमा सोझै योगदान दिएका छन् ।

प्रकाशित मिति ११ फाल्गुन २०७७, मंगलवार १५:४६
Loading...