सिरी ए लिगमा आज एटलान्टा र नापोलीको भिडन्त हुँदै

काठमाडौं, फागुन ८
इटालियन सिरी ए लिगमा आज लिगका दुई बलिया टोेलीहरू एटलान्टा र नापोलीबीच सिजनको दोस्रो भिडन्त हुँदैछ । उनीहरूमध्ये आजको खेल नापोलीका लागि २२औं र एटलान्टाका लागि २३औं साताको खेल हुनेछ । खेल नेपाली समयअनुसार राति ठीक १०ः४५ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा एटलान्टा २२ खेलपछि ४० अंकका साथ सातौं स्थानमा रहेको छ । नापोली २१ खेलपछि ४० अंक बनाएर छैटौं स्थानमा छ । आज एटलान्टाले नापोलीलाई आफ्नो मैदानमा स्वागत गर्दा यो खेल रोमाञ्चक र घमाशान हुने पक्का छ ।

यसअघि भएको सिजनको पहिलो लेगमा नापोलीले आफ्नो घरमा पाहुना टोली एटलान्टालाई ४–१ को नमिठो हार खुवाएको थियो । आज आफ्नो घरमा नापोलीलाई स्वागत गर्दा एटलान्टा पहिलो लेगको बदला लिने दाउमा हुनेछ ।

यता, लिगको पहिलो खेलबाहेक यी दुई टोली केही समयअघि मात्रै कोपा इटालियाको सेमिफाइनलमा खेलेका थिए । जहाँ एटलान्टाले नापोलीलाई दोस्रो लेगमा ३–१ ले हराएर फाइनल प्रवेश गरेको थियो । सिजनको पहिलो लेगमा नापोलीले एटलान्टलाई ४–१ हराउँदा कोपाको सेमिमा एटलान्टाले नापोलीलाई ३–१ हराएका थिए ।

प्रकाशित मिति ९ फाल्गुन २०७७, आईतवार ११:१३
Loading...