सिरी ए लिगमा आज एसी मिलान र इन्टर मिलानको भिडन्त हुँदै

काठमाडौं, फागुन ८
इटालियन सिरी ए लिगमा आज सिजनको दोस्रो मिलान डर्बी भिडन्त हुँदैछ, जहाँ मिलान सहरका दुई ठूला टोलीहरू एसी मिलान र इन्टर मिलान आमनेसामने हुँदैछन् । यो खेल एसी मिलानको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक ७ः४५ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा इन्टर मिलान २२ खेलपछि ५० अंकका साथ टेबलको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा एसी मिलान छ । उसले समान २२ खेलबाट ठीक ४९ अंक जोडेको छ । ताजा अवस्थामा समान खेलपछि इन्टर मिलान एसी मिलानभन्दा मात्रै १ अंकले अघि रहेर शीर्ष स्थानमा छ ।

आज राति मिलान आफ्नो घरेलु मैदानमा हुने यो खेल जितेर लिगको शीर्ष स्थानमा फर्किने दाउमा छ । यसअघि उसलाई स्पेजियाले हराएको थियो । सो हारपछि उसको शीर्ष स्थान गुमेको थियो । यता, इन्टर मिलान भने लिगका पछिल्ला ३ खेलमा लगातार विजयी छ ।

यसअघि गत अक्टोबर १७ मा भएको सिजनको पहिलो लेगमा एसी मिलानले इन्टर मिलानलाई उसकै घरेलु मैदानमा १–२ ले हराएको थियो । आज आफ्नो घरमा इन्टरलाई स्वागत गर्दा एसी मिलान अघिल्लो लेगकै नतिजा दोहोराउने दाउमा हुनेछ भने इन्टर पहिलो लेगको हारको बदला लिने दाउमा हुनेछ ।

यसबाहेक यी दुई टोली केही समयअघि मात्रै कोपा इटालियाको अन्तिम आठमा भिडेका थिए, जहाँ इन्टर मिलानले एसी मिलानलाई हराएर सेमिफाइनल प्रवेश गरेको थियो । सो खेलपछि यी दुई टोलीको भिडन्त आज राति हुन लागेको हो ।

प्रकाशित मिति ९ फाल्गुन २०७७, आईतवार ११:०४
Loading...