हल्यान्डको वेग उस्तै : डर्टमुन्डको शानदार जितमा हाने २ गोल

काठमाडौं, फागुन ९
दुई दिनअघि युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा स्पेनिस सेभिल्लाविरुद्ध २ गोल गरेका अर्लिङ हल्यान्डले लगत्तै भएको लिग खेलमा पनि उत्कृष्ट प्रदर्शन कायम राख्दै २ गोल गरेका छन् । गत राति बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले शाल्केलाई उसकै घरेलु मैदानमा ०–४ को फराकिलो अन्तरले हराउँदा २० वर्षका गोल मेसिन खेलाडी हल्यान्ड नायक बने ।

शाल्केको घरमा पाहुना टोली डर्टमुन्डले एकपक्षीय जित निकाल्नेक्रममा नर्वेजियन खेलाडीले २ गोलको योगदान दिँदा जाडोन सान्चो र राफाएल गुरेरियाले पनि १–१ गोल गरे । डर्टमुन्डका लागि पहिलो खेलको ४२औं मिनेटमा सान्चोले गर्दा ४५औं मिनेटमा हल्यान्डले व्यक्तिगत पहिलो गोल गरे ।

त्यसपछि खेलको ६०औं मिनेटमा गुरेरियोले टिमका लागि तेस्रो गोल गर्दा डर्टमुन्डले घरेलु टोलीविरुद्ध ०–३ को सहज अग्रता बनायो । त्यसपछि खेलको ७९औं मिनेटमा डर्टमुन्डले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल डर्टमुन्डले ०–४ ले जित्न सफल भयो ।

यस खेलमा गरेको २ गोलसँगै हल्यान्डले जारी सिजन लिगमा गरेको कूल गोल संख्या १७ पुगेको छ । उनले १७ खेलबाट १७ नै गोल गरेका हुन् । यो सिजन उनले हालसम्म सबैखाले प्रतियोगिताबाट कूल २७ गोल गरिसकेका छन् । उनी च्याम्पियन्स लिगको त सर्वाधिक गोलकर्ता नै हुन् ।

यो जितपछि डर्टमुन्डले लिगका २२ खेलपछि कूल ३६ अंक बनाएको छ । ऊ हाल छैटौं स्थानमा मात्रै रहेको छ । डर्टमुन्ड अझै लिग लिडर बार्यन म्युनिखभन्दा १३ अंकले पछि छ । जबकि, दुवैले समान २२–२२ खेल खेलेका छन् । यता, शाल्के ९ अंकसहित लिगको सबैभन्दा पुछारमा रहेको छ ।

प्रकाशित मिति ९ फाल्गुन २०७७, आईतवार ०८:१६
Loading...