एभर्टनले पनि बाँकी राखेन लिभरपुललाई : लिगमा लगातार चौथो हार !

काठमाडौं, फागुन ९
इंग्लिस प्रिमियर लिग फुटबलको गत सिजनको च्याम्पियन टोली लिभरपुलले यस सिजन लगातार चौथो हार भोगेको छ । नेपाली समयअनुसार आइतबार बिहान सम्पन्न लिगको २५औं साताको खेलमा लिभरपुललाई सातौं स्थानको एभर्टनले उसकै घरेलु मैदानमा ०–२ को नमिठो हार खुवायो । यससँगै लिभरपुल एभर्टनसँग २३ वर्षपछि पहिलोपटक एनफिल्ड रंगशालामा पराजित भएको छ ।

यससँगै गत वर्ष ३० वर्षपछि घरेलु लिग जितेर इतिहास रचेको लिभरपुल यो सिजन लगातार चार खेलमा पराजित हुन पुगेको छ । र, उसका लागि यो सिजनको उपाधि अब व्यवहारिक र अंकगणितीय रूपमा पनि आकाशको फल बनेको छ । आज एभर्टनसँग हार्नुअघि लिभरपुलले लगातार तीन खेल हारेको थियो ।

लिभरपुलको घरेलु मैदानमा एटर्भनले खेल सुरु भएको तेस्रो मिनेटमै अग्रता लिएको थियो । ब्राजिलियन युवा स्टार रिचार्लिसनले बक्स भित्रबाट उत्कृष्ट गोल गरेका थिए । हामेस रोड्रिग्वेजले लिभरपुलका ३ जना डिफेन्डरका माझबाट चलाखीपूर्वक दिएको उत्कृष्ट पासमा रिचार्लिसनले कुनै गल्ती गरेनन् ।

त्यसपछि एभर्टनले दोस्रो गोल खेलको ८३औं मिनेटमा पेनाल्टीमार्फत् हान्यो । लिभरपुलका खेलाडीले बक्समा एभर्टनका लेविनलाई फउल गरेर लडाएपछि पाएको पेनाल्टीमा कप्तान गिल्फी सिर्गुसनले गोल गरेपछि खेल एभर्टनले ०–२ ले जित्यो ।

अब यो जितपछि एभर्टनले २४ खेलबाट कूल ४० अंक जोडेको छ । ऊ हाल सातौं स्थानमा रहेको छ । आफ्नै घरमा पराजित लिभरपुल २५ खेलपछि ४० नै अंकका साथ छैटौं स्थानमा छ । दुवैको समान अंक भए पनि गोलअन्तरमा लिभरपुल अगाडि छ । यो हारपछि लिभरपुल एक खेल कम खेलेको लिग लिडर म्यानचेस्टर सिटीभन्दा ठीक १६ अंकले पछि परेको छ । यहाँबाट हेर्दा अ लिभरपुलका लागि यो सिजनको उपाधि होड अनौपचारिक रूपमा समाप्त भएको छ भन्दा फरक पर्दैन ।

प्रकाशित मिति ९ फाल्गुन २०७७, आईतवार ०१:१७
Loading...