एथ्लेटिको मड्रिडको दीनदशा सुरु : लेभान्टेसँग आफ्नै घरमा नमिठो हार !

काठमाडौं, फागुन ८
यो सिजन स्पष्ट रूपमै उपाधि होडमा सुविधाजनक अवस्थामा रहेको लिग लिडर एथ्लेटिकोे मड्रिड पराजित भएको छ । आज शनिबार भएको लिगको २३औं साताको खेलमा एथ्लेटिको मड्रिडलाई उसकै घरेलु मैदानमा पाहुना टोली लेभान्टेले ०–२ ले स्तब्ध बनायो । ३ दिनअघि मात्रै सिजनको पहिलो लेगको खेलमा एथ्लेटिको लेभान्टेको घरमा १–१ को बराबरीमा रोकिएको थियो । तर, ३ दिनको बीचमा भएको दोस्रो लेगमा त एथ्लेटिको सोही टिमसँग नमिठो गरी पराजित भयो ।

यससँगै एथ्लेटिकोले पछिल्ला ४ खेलमध्ये मात्रै १ खेल जितेर २ खेल बराबरी गर्दा १ खेल हारेको छ । यी पछिल्ला ४ खेलको उपलब्ध १२ अंकमध्ये एथ्लेटिकोले मात्रै ५ अंक जोडेर ७ अंक गुमाएको छ । अब यो हारले केही समयअघि एथ्लेटिकोसँग रहेको १३ अंकको अग्रता स्वात्तै घटेर ६ मा आएको छ । र, रियल मड्रिड तथा बार्सिलोनालाई अब उपाधि होडमा फर्किन एकदमै बाटो खुला भएको छ । यदि आज राति दोस्रो स्थानको रियल मड्रिडले भाल्लाडोलिडलाई हराए रियल र एथ्लेटिकोको अंक दूरी मात्रै ३ मा खुम्चिनेछ ।

लेभान्टेका लागि खेलको ३०औं मिनेटमा जोसे लुइस मोरालेसले गोल गरेर घरेलु टोलीलाई झट्का दिएका थिए । त्यसपछि आफ्नै घरमा लगातार गोलका लागि आक्रमण बुनेको एथ्लेटिकोले चाँडो गोल गर्न सकेन । र, पाहुना टोली लेभान्टे १ गोलको अग्रता जोगाएर जिततर्फ अघि बढको थियो । लेभान्टेलाई खेलमा बचाइराख्न नायकको भूमिका गोलकिपरले निभाए । उनले एथ्लेटिको मड्रिडका दर्जनौं खतरनाक प्रहारहरू बचाएर घरेलु टोलीलाई लगातार निराश पारेका थिए ।

अन्तिम समयसम्म बराबरी गोलको खोजीमा रहेको एथ्लेटिकोले इन्जुरी समयमा आफ्नै गल्तीले दोस्रो गोल खायो । खेलकाले अन्तिम मिनेटमा पाएको कर्नर किक प्रहार गर्ने बेला एथ्लेटिकोका गोलकिपर आफ्नो पोस्ट छाडेर लेभान्टेको पोस्टमा आक्रमण गर्न पुगेका थिए । त्यसैबेला लेभान्टेले बक्सबाट बल क्लियर पारेर एथ्लेटिकोको पोस्टतर्फ अघि बढायो । र, एथ्लेटिकोका गोलकिपर ओब्लाक पछि–पछि दौडिए ।

तर, लेभान्टेका सब्सिच्युट खेलाडी डे फ्रुटोजले ओब्लाकलाई पछि छाडेर मैदानको मध्य भागबाट हानेको हलुका प्रहार गोलकिपर बिनाको खाली पोस्टमा आरामले छिरेपछि खेल लेभान्टेले ०–२ ले जित्यो ।

अब यो हारपछि एथ्लेटिको मड्रिडको खातामा २३ खेलपछि ५५ अंक भएको छ । ऊ अझै पनि शीर्ष स्थानमा छ । अब समान २३ नै खेल खेलेको दोस्रो स्थानको रियल मड्रिडको खातामा ४९ अंक छ । तर, उसले आजै राति हुने आफ्नो खेल जिते एथ्लेटिकोसँगको दूरी ६ बाट ३ मा भर्नेछ । यता, अहिले २२ खेल खेलेर ४६ अंक बनाएको बार्सिलोना तेस्रो स्थानमा छ । यता, विजयी लेभान्टे २४ खेलपछि ३१ अंक बनाएर आठौं स्थानमा चढेको छ ।

प्रकाशित मिति ८ फाल्गुन २०७७, शनिबार २२:५६
Loading...