बुन्डेसलिगा : लिग लिडर बार्यन म्युनिख फ्रान्कफुर्टसँग पराजित

काठमाडौं, फागुन ८
जर्मन लिग बुन्डेसलिगा फुटबलमा लिग लिडर बार्यन म्युनिख लिगको २२औं साताको खेलमा पराजित भएको छ । आज शनिबार राति भएको खेलमा चौथो स्थानको फ्रान्कफुर्टले आफ्नो घरेलु मैदानमा पाहुना टोली बार्यनलाई २–१ अन्तरले पराजित गरेको हो ।

आफ्नो घरेलु मैदानमा फ्रान्फुर्टले खेलको ३१औं मिनेटमै २–० को अग्रता बनाएको थियो । खेलको १२औं मिनेटमा डाइची कामडाले गोल गरेर बार्यनविरुद्ध फ्रान्कफुर्टलाई पहिला अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३१औं मिनेटमा फ्रान्कफुर्टकै अमिन युनेसले गोल गरेर बार्यनविरुद्ध २–० को अग्रता दिलाए ।

पहिलो रोजाइका खेलाडी लिएर मैदान उत्रिएको बार्यन पहिलो हाफमै २ गोल खाएपछि चर्को दबाबमा परेको थियो । तर, खेलको ५३औं मिनेटमा पाहुना टोली बार्यले खेलमा फर्किने संकेत देखाएको थियो । रोवर्ट लेवान्डोस्कीले गोल गरेर खेल २–१ बनाएका थिए । तर, त्यसपछि खेलभरि नै बार्यनले गोल निकाल्न सकेन । र, खेल फ्रान्कफुर्टले २–१ ले जित्यो ।

अब यो हारपछि बार्यनको खातामा २२ खेलपछि ४९ अंक मात्रै भएको छ । एक खेल कम खेलेको आरबी लेइपजिग ४४ अंकहित दोस्रो स्थानमा छ भने विजयी फ्रान्कफुर्ट ४२ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति ८ फाल्गुन २०७७, शनिबार २२:३०
Loading...