कासेमिरोलाई २०२० को प्रतिष्ठित अवार्ड

एजेन्सी, फागुन ८
स्पेनिस फुटबल क्लब रियल मड्रिडका स्टार मिडफिल्डर कासेमिरोलाई प्रतिष्ठित ‘द इएफई ट्रफी’ अवार्डले सम्मानित गरिएको छ । उनलाई बुधबार रियल मड्रिडको ट्रेनिङ सेन्टरमै पुगेर आयोजकले मिनी सभाका बीच यो अवार्ड प्रदान गरेको हो । यो अवार्ड चर्चित समाचार एजेन्सी ‘द इएफई’ ले हरेक वर्ष प्रदान गर्ने गर्छ ।

यो अवार्ड खास गरी स्पेनिस लिग खेल्ने ल्याटिन–अमेरिकी क्षेत्रका सिजनकै उत्कृष्ट खेलाडीलाई दिइन्छ । यो अवार्ड पहिलोपटक सिजन १९९०–९१ मा प्रदान गएिको थियो । त्यसबेला यो अवार्ड रोमिएल फर्नान्डेजले जितेका थिए ।

आयोजकले वर्ष २०२० का लागि यो अवार्ड रियल मड्रिडका ब्राजिलियन खेलाडी कासेमिरोलाई प्रदान गर्ने निर्णय गरेको हो । यो अवार्ड सबैभन्दा धेरै बार्सिलोनाका लिओनल मेस्सीले कूल पाँचपटक जितेका छ्न। उनले सिजन २००६–०७ मा पहिलोपटक यो अवार्ड जितेका थिए । त्यसपछि सिजन २००८–०९ देखि २०११–१२ सम्म लगातार चारपटक मेस्सीले नै यो अवार्ड जितेका थिए ।

यो अवार्ड ल्याटिन अमेरिकीभन्दा बाहिरका खेलाडीलाई जम्मा एकपटक मात्रै दिइएको छ । ती खेलाडी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो हुन् । उनलाई सिजन २०१२–१३ का लागि यो अवार्ड प्रदान गरिएको थियो ।

वर्ष २०२० मा रियलबाट कासेमिरोले ला लिगा र स्पेनिस सुपर कपहसहित दुई उपाधि जितेका थिए । सो दौरान उनले महत्त्वपूर्ण प्रदर्शन गर्दै टिमलाई सघाएका थिए । लामो समयदेखि रियलमा खेलिरहेका उनी अहिले पनि टोलीमा एक प्रमुख खेलाडी हुन् ।

प्रकाशित मिति ८ फाल्गुन २०७७, शनिबार १४:४५
Loading...