एमबाप्पेले जोर्डी अल्बालाई ‘म तिमीलाई सडकमा मार्छु’ भनेपछि …… (भनाभनको पूरा संवाद)

काठमाडौं, फागुन ८
बुधबार राति युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्पेनिस कलब बार्सिलोना र फ्रेन्च क्लब पिएसजीले पहिलो लेगको खेल खेले । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ रंगशालामा भएको सो खेलमा पिएसजीले दादागिरी देखाउँदै बार्सिलोनालाई उसकै घरेलु मैदानमा १–४ ले हरायो । सो खेलमा पिएसजीका फ्रेन्च युवा स्टार केलियन एमबाप्पेले उत्कृष्ट प्रदर्शनका साथ ह्याट्रिक गरे । र, बार्सिलोनालाई फेरि एकपटक खराब हारका साथ प्रतियोगिताबाटै बाहिरिने नजिक पुराएका छन् ।

सो खेल दौरान पिएसजी र बार्सिलोनाका खेलाडीबीच झगडा र नराम्रो भनाभन भएको भिडियो फुटेज अहिले सार्वजनिक भएको छ । खेलको स्कोर १–२ भएको अवस्थामा पिएसजीका एमबाप्पे र बार्सिलोनाका स्पेनिस डिफेन्डर जेरार्ड पिकेबीच गालीगलौजका साथ नराम्रो भनाभन भएको संवादसहितका रिपोर्ट अन्तर्राष्ट्रिय मिडियाले छापेका छन् । एमबाप्पे र अल्बाबीच भनाभन चलिरहँदा बार्सिलोनाका डिफेन्डरद्वय जेरार्ड पिके र सर्जिनो डेस्टसमेत भनाभनमा उत्रिएका थिए ।

सबैभन्दा पहिला एमबाप्पे बल लिएर अघि बढिरहेका बेला बार्सिलोनाका अल्बाले खराब ट्याकल गरेपछि यी दुईजनाबीच तनाव सुरु भएको थियो । त्यसबेला खास केही भएन । तर, अल्बाले एमबाप्पेलाई लक्षित गरी लगातार दोस्रोपटक अनावश्यक ट्याकल गर्न खोजेपछि एमबाप्पेले उनलाई ‘खराब नखेल्न’ भनेका थिए । तेस्रोपटक एमबाप्पेमाथि फउल गरेपछि एमबाप्पेले रेफ्रीसँग अल्बालाई कार्ड देखाउन अपिल गर्दा अल्बा एमबाप्पेमाथि खनिएका थिए । त्यसपछि चैं दुवै पक्षबीच चर्को भनाभन सुरु भयो, जतिबेला खेलमा पिएसजीले पछि परेको अवस्था उल्टाएर १–२ को अग्रता बनाइसकेको थियो ।

स्पेनिस पत्रिका ‘स्पोर्ट’को अनलाइन संस्करणमा त्यसबेला एमबाप्पे, अल्बा, पिके र डेस्टबीच भएको भनाभनको संवाद र भिडियो फुटेजसहित प्रकाशित गरेको छ, जुन यस्तो छ–

एमबाप्पे – ‘तिमी किन लगातार खराब खेलिरहेका छौ ?’

जोर्डी अल्बा– ‘तिमी केटाकेटी छौ । आफ्नो स्तरमा बस ।’

(त्यसपछि जोर्डी अल्बाले अपशब्द बोल्दै एमबाप्पेलाई गिज्याउँछन्)

र, एमबाप्पे आक्रोशित हुँदै भन्छन् ‘आई किल यु इन द स्ट्रेट, आई किल यु इन द स्टे«ट ।’
(एमबाप्पेले जोर्डी अल्बालाई सडकमै मार्ने धम्की दिन्छन्)

त्यसपछि नजिकै रहेका पिके अल्बाको बचाउ गर्दै आउँछन् र एबाप्पेमाथि खनिन्छन्– ‘तिमी कसलाई मार्छौं अरे ?’

पिके बोलिरहँदा अल्बा फेरि खराब शब्दका साथ एमबाप्पेलाई नै गाली दिइरहेका हुन्छन् ।

पिके बोलेपछि फेरि अल्बाले एमबाप्पेलाई लक्षित गर्दै मजाकपूर्ण शैलीमा भन्छन्– ‘ऊ केटाकेटी नै छ, ऊ सिकिरहेको छ । यो मान्छे भर्खर सिकिरहेको छ ।’

त्यसैबेला बार्सिलोनाका सर्जिनो डेस्ट नजिकै आउँछन् र एबाप्पेको काँधमा हात राख्दै भन्छन्– ‘तिमी शान्त होउ, शान्त । तिमी चुप लाग ।’

एमबाप्पेले डेस्टलाई तत्कालै उत्तर फर्काउँछन्– ‘डन्ट टच् मि ।’
०००

यदि भनाभन भएपछि रेफ्री र पिएसजीका अन्य खेलाडी आएर विवाद गरिरहेकालाई अलग गराउँछन् । यति भइसकेपछि एमबाप्पेले बार्सिलोनाविरुद्ध थप १ गोल गरेर आफ्नो शानदार ह्याट्रिक पूरा गर्छन् । र, खेल पिएसजीले १–४ ले जित्छ ।

खेलपछि एमबाप्पेले मिडियासँग बोल्दै बार्सिलोनाका अल्बाले आफूमाथि अश्लील शब्द प्रयोग गरेर गिज्याएपछि भनाभन सुरु भएको र आफूले उनको खराब व्यवहारप्रति प्रतिक्रिया मात्रै जनाएको बताएका थिए ।

प्रकाशित मिति ८ फाल्गुन २०७७, शनिबार १३:०४
Loading...