रियल मड्रिडलाई महासंकट : सिनियर टोलीका ९ जना खेलाडी घाइते

एजेन्सी, फागुन ८
स्पेनिस फुटबल क्लब रियल मड्रिडलाई खेलाडीको चोटलै ठूलो संकटमा धकेलेको छ । सिजन महत्त्वपूर्ण चरणमा पुगेका बेला सिनियर टोलीका ९ जना प्रमुख खेलाडी घाइते भएपछि प्रशिक्षक जिनेदिन जिदानको टाउको दुखाइ बढेको छ । रियलले आज राति ला लिगामा अवे मैदानमा भाल्लाडोलिडसँग प्रतिस्पर्धा गर्दैछ । सो खेलअघि रियल महत्त्वपूर्ण खेलाडीको चोटले थलिएको हो ।

यो सिजन कमजोर अवस्थाबाट अघि बढिरहेको रियललाई विभिन्न पोजिसनका प्रमुख खेलाडी चोटग्रस्त हुँदा आगामी केही खेलमाथि ठूलो दबाब बढेको छ । स्पेनिस मिडिया ‘मार्का’ का अनुसार अहिले प्रमुख खेलाडी इडेन हाजार्ड, फरवार्ड रोड्रिगो गोएस, डिफेन्डर ओड्रिओजोला, मिडफिल्डर फेडे भाल्भर्डे, डिफेन्डर इडर मिलिटाओ, कप्तान तथा डिफेन्डर सर्जियो रामास, लेफ्ट ब्याक मार्सेलो, राइट ब्याक ड्यानी कार्भाहाल सबै घाइते अवस्थामा छन् । त्यसैगरी, टोलीमा प्रमुख गोलकर्ता फरवार्ड करिम बेन्जेमा पनि चोटसँग जुधिरहेका छन् ।

बेल्यिन स्टार हाजार्ड विगत लामो समयदेखि नै घाइते छन् भने कप्तान रामोस पनि घाइते छन् । ताजा अवस्थामा मिलिटाओ र ओड्रिओजोला रिकभरीको अन्तिम चरणमा छन् । तर, यी २ जनाबाहेक अन्य खेलाडी कहिलेबाट टोलीमा फर्किन्छन् भन्ने कुनै टुंगो छैन ।

ला लिगामा आज राति रियल भाल्लाडोलिड विरुद्ध खेलेपछि रियलले अर्को खेल आगामी बुधबार राति च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा इटालियन एटलान्टासँग अवे मैदानमा खेल्नेछ । सो खेलमा बेन्जेमा फर्किन सक्ने झिनो सम्भावना रहेको बताइएको छ । डिफेन्डर रामोसको अप्रेसन भएकाले उनी अझै लामो समय टोलीबाहिर नै हुनेछन् ।

प्रकाशित मिति ८ फाल्गुन २०७७, शनिबार १२:४५
Loading...