ला लिगामा आज बार्सिलोना १५औं स्थानको क्याडिजसँग खेल्दै

काठमाडौं, फागुन ९
स्पेनिस ला लिगा फुटबलमा आज बार्सिलोना जारी सिजनअन्तर्गत लिगको २३औं साताको खेल खेल्दै छ । यो खेलका लागि उसले १५औं स्थानको क्याडिजलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । यो खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा बार्सिलोना २२ खेलपछि ४६ अंक बनाएर तेस्रो स्थानमा रहेको छ । उसले यो सिजन १४ खेल जितेर ४ खेल बराबरी गरेको छ भने ४ खेल नै हारेको छ । हालको अवस्थामा बार्सिलोना २३ खेल खेलेको लिग लिडर एथ्लेटिको मड्रिडभन्दा ९ अंकले पछि । यदि आज स्पष्ट जित निकाले उसले सो अंक दूरी ६ मा छोट्याउनेछ ।

यता, आज बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ रंगशालामा उत्रिन लागेको क्याडिज २४ खेलपछि २४ नै अंक बनाएर १५औं स्थानमा छ । पछिल्ला चार खेलमा लगातार हार व्यहोरेको क्याडिज आज बार्सिलोनाको घरमा उत्रिँदा अप्रत्यासित नतिजा निकाल्ने दाउमा हुनेछ ।

बार्सिलोना केही दिनअघि मात्रै च्याम्यिन्स लिगको अन्तिम १६ मा फ्रेन्च क्लब पिएसजीसँग आफ्नै मैदानमा १–४ ले हारेपछि लगत्तै आजको खेल खेल्न लागेको हो । क्याम्प नोउमा लज्जास्पद हारपछि आज सोही मैदानमा खेलमा तुलनात्मक रूपमा निकै कमजोर टोलीविरुद्ध उत्रिँदा बार्सिलोना उत्कृष्ट प्रदर्शन र जितको खोजीमा हुनेछ ।

हाल १५औं स्थानको क्याडिजविरुद्ध आफ्नै मैदानमा उत्रिँदा बार्सिलोना बदला लिने दाउमा हुनेछ । यसअघि गत डिसेम्बर ६ मा भएका सिजनको पहिलो लेगमा बार्सिलोना क्याडिजको घरमा २–१ ले हारेको थियो । त्यसबेला क्याडिजले आफ्नो घरमा बार्सिलोनालाई नमिठो गरी हराउँदा आफ्ना २ गोल र बार्सिलोनाको १ गोल पनि आफैंले गरेको थियो । आज क्याप नोउमा उत्रिँदा क्याडिज अघिल्लै लेगको नतिजा दाहोराउने दाउमा हुनेछ भने बार्सिलोना अघिल्लो लेगमा भोगेको हारको बदला लिने दाउमा हुनेछ ।

प्रकाशित मिति ९ फाल्गुन २०७७, आईतवार १०:५२
Loading...