रोनाल्डो ‘च्याम्पियन्स लिगका राजा’ : हल्यान्ड ‘नयाँ राजकुमार’ !

एजेन्सी, फागुन ७
इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई धेरैले ‘मिस्टर च्यापियन्स लिग’को उपमा दिने गर्छन् । कतिपयले उनलाई ‘च्याम्पियन्स लिगका राजा’ भने भन्ने गर्छन् । रोनाल्डोकै कट्टर फ्यानले त च्याम्पियन्स लिग प्रतियोगितालाई नै ‘क्रिस्टियानो युइएफए च्याम्पियन्स लिग’को समेत उपामा दिने गर्छन् ।

यी त रोनाल्डोका समर्थकहरूले उनको प्रशंसामा खर्चिएका शब्द वा दिएका सम्मान हुन् । च्याम्पियन्स लिगको इतिहासकै सर्वाधिक गोलकर्ता, सर्वाधिक असिस्टकर्ता, पाँचपटकका उपाधि विजेता, नकआउट चरणका सर्वाधिक गोलकर्ता, फाइनल खेलका सर्वाधिक गोलकर्ता, सिंगल सिजनमा सर्वाधिक १७ गोल गर्ने कीर्तिमानी, सबैभन्दा धेरै ७ पटक सिजनको सर्वाधिक गोलकर्ता, इतिहासमै तीन गोल संख्याका रेकर्ड होल्डर, (१७ गोल, १६ गोल, १५ गोल) लगायत असंख्याकीर्तिमानले गर्दा रोनाल्डोलाई यस प्रतियोगिताको इतिहासकै सर्वश्रेष्ठ खेलाडी मानिन्छन् ।

अहिले रोनाल्डोलाई आफ्नो सबसे ठूलो आइडल मान्ने नर्वेका युवा फरवार्ड हर्लिङ हल्यान्डलाई भने च्याम्पियन्स लिगको ‘नयाँ राजकुमार’ का रूपमा समर्थकहरूले चर्चा गर्न थालेका छन् । अघिल्लो समर सिजनमा अस्ट्रियन क्लब रेडबुल साल्जवर्गबाट जर्मन क्लब बोरुसिया डर्टमुन्डमा पुगेका उनले युरोपकै एक ठूलो प्रतियोगितामा गरेको प्रदर्शन र गोल संख्यालाई हेरेर उनलाई धेरैले ‘दोस्रो रोनाल्डो’ भनेर प्रशंसा गर्न थालेका छन् । रोनाल्डोलाई च्याम्पियन्स लिगका राजा भनेर प्रशंसा गर्नेहरूले हल्यान्डलाई ‘च्याम्पियन्स लिगका नयाँ राजकुमार’ को उपमा दिन थालेका छन् ।

उमेरले मात्रै २० वर्षका युवा खेलाडी अहिले च्याम्पियन्स लिगको इतिहासमै धेरै गोल गर्ने सबैभन्दा कान्छा खेलाडी मात्रै बनेका छैनन्, उनी इतिहासमै सबैभन्दा थोरै खेलबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी पनि बनेका छन् । युइएफएले आफ्नो अफिसियल वेबसाइटमार्फत् हल्यान्डकोे प्रतिभा र यस प्रतियोगितामा उनले बनाएको आँकडाको चर्चा गर्दै उच्च प्रशंसा गरेको छ ।

हाल २० वर्ष पुगेका हल्यान्ले हालसम्म च्याम्पियन्स लिगमा मात्रै १४ खेलबाट कूल १८ गोल गरिसकेका छन्, जुन इतिहासकै धेरै हो । उनले पूर्वक्लब रेडबुल साल्जवर्गका लागि ७ खेलबाट ८ गोल गरेका छन् भने डर्टमुन्डका लागि ७ खेलबाट १० गोल गरिसकेका छन् ।

अघिल्लो दिन च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा डर्टमुन्डले स्पेनिस क्लब सेभिल्लालाई उसकै घरमा २–३ ले हराउँदा हल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरेका थिए । उनी सो खेलको म्यान अफ् द म्याच समेत घोषित भएका थिए । जारी सिजन मात्रै उनले च्याम्पियन्स लिगमा ५ खेलबाट ८ गोल गरिसकेका छन् ।

हल्यान्ड अहिले जसरी खेलिरहेका छन् र उनको उमेर जति छ, यस आधारमा हेर्ने हो भने उनले भविष्यमा यस प्रतियोगितामा सयौं गोल गर्ने पक्का छ । विश्व फुटबलमा नयाँ स्टारका रूमा उदाइसकेका उनी अब भविष्यमा च्याम्पियन्स लिगमा पनि एक खतरनाक गोल मेसिन खेलाडीका रूपमा रहने स्पष्टै संकेत देखिइसकेको छ ।

प्रकाशित मिति ७ फाल्गुन २०७७, शुक्रबार १३:००
Loading...