युरोपा लिगमा स्पेनिस ग्रानाडाले नापोलीलाई चखायो नमिठो हार !

काठमाडौं, फागुन ७
युरोपा लिग फुटबल प्रतियोगितामा इटालियन टिम नापोली अप्रत्यासित हारको सिकार भएको छ । गत राति भएको अन्तिम ३२ को पहिलो लेगको खेलमा नापोलीलाई स्पेनको ला लिगा टोली ग्रानाडाले आफ्नो घरेलु मैदानमा २–० को नतिजाले स्तब्ध बनायो । पाहुना टोली नापोलीले तुलनात्मक रूपमा निकै कमजोर टोलीविरुद्ध मिश्रित टोली उतार्दा त्यसको मूल्य महँगो पर्न गयो ।

अब यो जितसँगै ग्रानाडाले नापोलीलाई आउट गराउँदै प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । यदि दोस्रो लेग नापोलीको घरमा खेल्न जाँदा नापोलीले कम्तीमा ३–० को जित निकाल्न नसके ग्रानाडा अघि बढ्नेछ भने नापोली आउट हुनेछ ।

ग्रानाडाले नापोलीविरुद्ध मात्रै ३ मिनेटको बीचमा २ गोल गर्दै यो जित निकालेको हो । खेलको १९औं मिनेटमा घरेलु टोलीका लागि याङ्गेल हेरेराले गोल गरेर नापोलीलाई झट्का दिएका थिए । त्यसको २ मिनेटमै केनेडेले गोल अर्को गोल थपेपछि ग्रानाडा खेलमा २–० ले अघि रह्यो ।

त्यसपछि बाँकी समयभरि दुवै तर्फबाट गोल हुन सकेन । र, ग्रानाडाले खेल २–० ले जित्यो । ग्रानाडाको घरमा नापोलीले निकै फितलो प्रदर्शन गरेको थियो । उसले कूल ६२ प्रतिशत बल आफ्नो पकडमा राखे पनि जम्मा एकपटक मात्रै अन टार्गेट प्रहार गरेको थियो । यता, ग्रानाडाले भने कूल ९ प्रहार गर्दा ४ प्रहार सही दिशामा हानेको थियो ।

प्रकाशित मिति ७ फाल्गुन २०७७, शुक्रबार ०७:५७
Loading...