‘पिएसजीसँगको खेल मेस्सीका लागि क्याम्प नोउमा अन्तिम खेल’

एजेन्सी, फागुन ६
स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रमुख खेलाडी तथा कप्तान लिओनल मेस्सीका लागि क्याटलान क्लबमा यो सिजन अन्तिम सिजन हुने क्लबका लिजेन्ड खेलाडी रिभाल्डोले बताएका छन् । २ दिनअघि बार्सिलोना च्याम्पियन्स लिगमा अन्तिम १६ को पहिलो लेगको खेलमा आफ्नै मैदानमा फ्रेन्च क्लब पिएसजीसँग १–४ ले हारेपछि ब्राजिलियन लिजेन्डले मेस्सीको करिअरबारे यस्तो भनाइ राखेका हुन् ।

आफ्नै मैदानमा पिएसजीसँग लज्जास्पद हारपछि बार्सिलोना यो सिजन पनि अन्तिम १६ बाटै बाहिर हुने नजिक पुगेको छ । यदि पिएसजीको मैदानमा दोस्रो लेगमा कम्तीमा ०–४ को जित नकिकाले बार्सिलोना अर्को खराब हार भोग्दै यसपटक पनि आउट हुनेछ ।

एक अन्तर्वार्तामा कुरा गर्दै रिभाल्डोले मेस्सीका लागि पिएसजीसँग १–४ को हार मेस्सीका लागि क्याम्प नोउ रंगशालामा च्याम्पियन्स लिगमा अन्तिम होम म्याच हुने बताएका छन् । मेस्सीले फेरि च्याम्पियन्स लिगको खेल क्याम्प नोउमा खेलेको हेर्न नपाइने रिभाल्डोको भनाइ छ । रिभाल्डोले अन्तर्वार्तामा भनेका छन्–

‘पिएसजीसँगको खेल मेस्सीका लागि क्याम्प नोउमा च्याम्पियन्स लिगको अन्तिम खेल थियो, यो ९९ प्रतिशत साँचो हो । उनले यो सिजनपछि स्पेन छाड्ने पक्का छ । र, उनी पेरिस जाने बाटोमा छन् ।’

रिभाल्डोले बार्सिलोनामा मेस्सीको करिअरको अन्तिम समय निकै खराब र पीडादायी हुँदा आफूलाई पनि दुःख लागेको बताएका छन् । ‘यहाँ मेस्सीले २०औं वर्ष बिताउँदैछन् । यहाँ उनको करिअर सधैं सुखद् र सुनौलो रह्यो । २०१५ सम्म उनी सधैं चुलीमा थिए,’ रिभाल्डोले भनेका छन्, ‘तर, पछिल्ला वर्ष यहाँ उनी निकै खराब र पीडादायी समय बिताइरहेका छन्, यसबाट म निकै दुःखी छु । यो निकै दुःखलाग्दो भइरहेको छ ।’

प्रकाशित मिति ६ फाल्गुन २०७७, बिहीबार २१:४५
Loading...