ला लिगामा एथ्लेटिको मड्रिडको अग्रता खुम्चिँदै : लेभान्टेसँग बराबरीमा रोकियो

काठमाडौं, फागुन ६
स्पेनिस ला लिगा फुटबलमा यो सिजन उपाधि होडमा सहज अग्रता बनाएर शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको सुविधाजनक अग्रता खुम्चिनेक्रममा छ । उसले पछिल्ला ३ खेलको ९ अंकमध्ये मात्रै ५ अंक जितेर ४ अंक गुमाइसकेको छ । गत राति एथ्लेटिको लिगको २२औं साताको खेलमा लेभान्टेसँग अवे मैदानमा १–१ को बराबरीमा रोकिँदै अंक बाँड्न बाध्य भयो ।

यसअघिको खेलमा एथ्लेटिकोले ग्रानाडालाई उसकै घरमा १–२ ले हराउँदा त्यसअघिको खेलमा आफ्नै मैदानमा सेल्टा भिगोसँग २–२ को बराबरीमा रोकिएको थियो । यसरी उसले पछिल्ला ३ खेलमा मात्रै एक खेल जितेर २ खेल बराबरी गर्दा जित्न सक्ने ९ मध्ये ४ अंक गुमेको छ । यसको सोझो फाइदा अब उपाधि होडमा रहेका अन्य टिमहरू रियल मड्रिड र बार्सिलोनालाई पुग्नेछ ।

लिगको ११औं स्थानको लेभान्टेको घरेलु मैदानमा एथ्लेटिकोले पछि परेको अवस्थामा गोल गरे पनि विजयी गोल गर्न सकेन । खेलको १७औं मिनेटमा इनिस बार्ढीको गोलबाट घरेलु लेभान्टेले अग्रता लिएको थियो । त्यसपछि खेलको ३७औं मिनेटमा मार्कोस लोरेन्टोले गोल गर्दै पाहुना टोलीलाई १–१ को बराबरीमा फर्काए ।

तर, त्यसपछि खेलभरि नै एथ्लेटिकोले गोल निकाल्न सकेन । एथ्लेटिकोले खेलभरिमा कूल १४ पटक आक्रमण बुनेर ६ पटक अन टार्गेट हानेको थियो । खेलको अन्त्यतिर लुइस स्वारेजले गोल गर्ने मौका पाए पनि त्यसमा चुक्दा एथ्लेटिको खेल १–१ को बराबरीमा टुंग्याउन सफल भयो ।

अब यो बराबरीपछि एथ्लेटिकोले कूल २२ खेलबाट ५५ अंक जोडेको छ । ऊ शीर्ष स्थानमा यथावत छ । ऊ अझै पनि एक खेल बढी खेलेको दोस्रो स्थानको रियल मड्रिडभन्दा ६ अंक र बराबरी खेल खेलेको तेस्रो स्थानको बार्सिलोनाभन्दा ९ अंकले अघि नै छ । यता, लेभान्टे २३ खेलपछि २८ अंकका साथ ११औं स्थानमा छ ।

प्रकाशित मिति ६ फाल्गुन २०७७, बिहीबार १०:३६
Loading...